
एजेन्सी । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण भएका फिल्महरूमा १०० प्रतिशत भन्सार लगाउने तयारी गरेका छन् । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘अमेरिकाको चलचित्र उद्योग छिटो मर्न लागेको छ । अन्य देशहरूले फिल्म निर्माणका लागि कर छुटजस्ता सुविधा दिँदै अमेरिकी स्टुडियोलाई तान्दैछन् । त्यसैले अब हामी अमेरिकामा नै फिल्म बनाउन चाहन्छौं ।’
ट्रम्पले अमेरिकाको वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई विदेशी फिल्ममा भन्सार लगाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको बताएका छन्।
तर विज्ञहरू फिल्महरू बौद्धिक सम्पत्ति भएकाले तिनीहरूमा सामान्य वस्तुमा झैं भन्सार लगाउन सकिन्न। त्यसैले ट्रम्पको प्रस्ताव व्यवहारमा लागू गर्न कठिन हुन सक्छ।
वर्तमानमा धेरै अमेरिकी फिल्महरू क्यानडा, आयरल्यान्ड, अष्ट्रेलियाजस्ता देशहरूमा खिचिन्छन्। त्यहाँ श्रम सस्तो हुने र सरकारबाट कर छुट पाइने भएकाले निर्माताहरू विदेशी स्थान रोज्ने गर्छन् ।
यसैबीच, क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले हलिउड फर्काउने उद्देश्यले फिल्म निर्माणमा कर छुट दिने घोषणा गरेका छन् ।
ट्रम्पले विदेशबाट आउने फिल्मलाई ‘राष्ट्रिय सुरक्षा संकट’ को रुपमा व्याख्या गरेका छन् । उनले लेखेका छन्, ‘यो विदेशी राष्ट्रहरूको योजनाबद्ध हमला हो । यो प्रचारको हतियार हो।’
यद्यपि हलिउड पूर्ण रूपमा तहसनहस भइसकेको छैन। अमेरिकामा हलमा फिल्म हेर्ने टिकट बिक्री घटेको छ। महामारीपछि ठूला बजेटका फिल्महरू कम रिलिज भएका छन् र दर्शकहरूले घरमै स्ट्रीमिङ प्लेटफर्महरू प्रयोग गर्ने प्रवृत्ति बढाएका छन् ।
अमेरिकी बक्स अफिसले सन् २०१८ मा झण्डै १२ अर्ब डलर आम्दानी गरेको थियो, जुन सन् २०२० मा कोभिडका कारण थियटरहरू बन्द भएपछि २ अर्ब डलरसम्म झरेको थियो । यद्यपि, हलहरु फेरि खुलेका छन्, २०१९ को तुलनामा फिल्म रिलिजको संख्या आधा भएको छ र सन् २०१८ पछिदेखि अमेरिकी बक्स अफिस आम्दानी ९ अर्ब डलर नाघ्न सकेको छैन ।
नेटफ्लिक्सबाहेक अधिकांश स्ट्रीमिङ प्लेटफर्महरू ठूला हलिउड स्टुडियोकै स्वामित्वमा छन्, तर नाफा कमाउन तीलाई धेरै समय लागेको छ । डिज्नी+ र म्याक्सले बल्ल नाफा देखाउन थालेका छन्, तर अन्य धेरै स्ट्रीमिङ सेवाहरू अझै घाटामा छन् ।
तर विदेशमा बनेका फिल्महरूमा भन्सार वा अन्य व्यापार अवरोधहरू लगाउनु हलिउडका स्टुडियोलाई सजिलो हुने भन्ने निश्चित छैन । धेरै अमेरिकी फिल्महरू पनि सस्तो लागत, कर छुट र सस्तो श्रमका कारण विदेशमै खिचिन्छन् ।
ट्रम्पले अरु देशहरूले अमेरिकामाथि लगाएका गैर-भन्सार अवरोधहरूको आलोचना गर्दै आएका छन्, तर उनले अमेरिकाबाट गरिएको प्रतिक्रिया हालसम्म मुख्यतः वस्तुहरूमा भन्सार सीमित गरेका छन् । उनले अधिकांश वस्तुहरूमा १०% भन्सार, स्टील, एलुमिनियम, गाडी तथा पार्टपुर्जामा २५% भन्सार लगाइसकेका छन्। उनले क्यानाडाबाट आउने केही वस्तुहरूमा १४५% सम्मको भारी भन्सारसमेत लगाएका छन् ।








प्रतिक्रिया