लगानी गर्न नसकेपछि बैंकहरुले राखे ३ खर्ब राष्ट्र बैंकमा, आइतबार ५० अर्ब बोलकबोल हुने

413
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । न्यून ब्याजदर र पर्याप्त लगानीयोग्य तरलता हुँदा समेत कर्जा लगानी बढ्न नसकेपछि बैंकहरु अधिक तरलताको दबाबमा परेको हुन् ।

अर्थतन्त्रमा सुस्तता कायम रहँदा कर्जा विस्तारमा अपेक्षित विस्तार हुन नसकेको तर रेमिट्यान्समा भएको लगातारको वृद्धिसँगै निक्षेप लगातार बढ्दा बैंकहरुमा अधिक तरलताको दबाब बढिरहेको छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नेपाल राष्ट्र बैंकले लगातार खिच्दै आएको छ । स्थायी निक्षेप सुविधाका साथै निक्षेप बोलकबोलमार्फत केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

आइतबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । २१ दिनको लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको नजिक राख्ने उल्लेख गरेको थियो । तर, निरन्तर अधिक तरलताको दवाब हुँदा निक्षेप संकलन दरको वरीपरि भने राखेको छ । चालु आर्थिक वर्षको सुरुवातबाट नै भारित औसत अन्तरबैंक ब्याजदर करिब ३ प्रतिशत देखिन्छ ।

राष्ट्र बैंककले चालु आर्थिक वर्ष लागेपछि ६९ पटक निक्षेप संकलन उपकरण बोलकबोल गर्दा २३ खर्ब ४८ अर्ब ७५ करोड तरलता प्रशोचन गरेको छ । त्यस्तै ११८ पटक स्थायि निक्षेप सुविधा प्रयोग गर्दा १५९ खर्ब ४९ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । कुल १८२ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको हो ।

राष्ट्र बैंकको १९ वैशाखको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा बढी भएको २ खर्ब ९९ अर्ब ७५ करोड रुपैयाँ तरलता बैंकहरुले राष्ट्र बैंकमा राखेका छन् । दोस्रो त्रैमासको सुरुमा यस्तो रकम करिब २ खर्ब २० अर्बसम्म झरेपनि पुन बढ्दै गएको छ ।
अनिवार्य नगद मौज्दातको ३० प्रतिशत बैंकिङ प्रणालीमा ६९ अर्ब ८२ करोड रुपैयाँ अधिक तरलता छ । जुननपाल राष्ट्र बैंकले खिचेको मौज्दात बाहेकको हो ।

Skip This