लगानी गर्न नसकेपछि बैंकहरुले राष्ट्र बैंकमा राखे करिब ३ खर्ब, बुधबार थप ५० अर्ब बोलकबोल हुँदै

371
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । अर्थतन्त्रमा सुस्तता कायम रहँदा कर्जा विस्तारमा अपेक्षित विस्तार हुन नसकेको तर रेमिट्यान्समा भएको लगातारको वृद्धिसँगै निक्षेप लगातार बढ्दा बैंकहरुमा अधिक तरलताको दवाब बढीरहेको छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नेपाल राष्ट्र बैंकले लगातार खिच्दै आएको छ । स्थायी निक्षेप सुविधाका साथै निक्षेप बोलकबोल मार्फत केन्द्रीय बैंकले निरन्तर चरलता खिचिरहेको छ ।

बुधबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । २१ दिनको लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको नजिक राख्ने उल्लेख गरेको थियो । तर, निरन्तर अधिक तरलताको दवाब हुँदा निक्षेप संकलन दरको वरीपरि भने राखेको छ । चालु आर्थिक वर्षको सुरुवातबाट नै भारित औसत अन्तरबैंक ब्याजदर करिब ३ प्रतिशत देखिन्छ ।

राष्ट्र बैंककले चालु आर्थिक वर्ष लागेपछि ६८ पटक निक्षेप संकलन उपकरण बोलकबोल गर्दा २२ खर्ब ९८ अर्ब ७५ करोड तरलता प्रशोचन गरेको छ । त्यस्तै ११७ पटक स्थायि निक्षेप सुविधा प्रयोग गर्दा १५८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । कुल १८१ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ तरलता प्रशोचन भएको हो ।

राष्ट्र बैंकको १६ फागुनको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा बढी भएको २ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ तरलता बैंकहरुले राष्ट्र बैंकमा राखेका छन् । दोस्रो त्रैमासको सुरुमा यस्तो रकम करिब २ खर्ब २० अर्बसमम् झरेपनि पुन बढ्दै गएको छ ।

Skip This