रूस र युक्रेन ‘सम्झौता’ नजिक पुगेका छन् : ट्रम्प

476
Shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन ‘सम्झौता’ को निक्कै नजिक पुगेको बताएका छन्। यो भनाइ उनले आफ्ना दूत स्टीव विटकॉफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको वार्तापछि दिएका हुन्।

ट्रम्पले यो दिनलाई ‘सफल वार्ताको दिन’ भनेका छन् भने क्रेमलिनले वार्तालाई ‘रचनात्मक’ भन्दै प्रशंसा गरेको छ। यद्यपि, यो वार्तामा युक्रेन सहभागी थिएन।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै ‘धेरैजसो महत्वपूर्ण बुँदामा सहमति भइसकेको’ बताएका छन् र रूस तथा युक्रेनलाई ‘उच्चस्तरीय बैठक गरी अन्तिम सम्झौता टुंग्याउन ‘ आग्रह गरेका छन्।

उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधनमा ‘रूसमाथि बिना शर्त युद्धविरामका लागि वास्तविक दबाब आवश्यक’ रहेको बताएका छन्।

जेलेन्स्कीले युक्रेन र रूसबीचको भू – क्षेत्रीय विवाद छलफल गर्न सकिने जनाएका छन्, तर त्यसका लागि पूर्ण र बिना शर्त युद्धविराम हुनुपर्ने शर्त राखेका छन्।

सम्भावित सम्झौताअनुसार युक्रेनले रूसद्वारा कब्जा गरिएका भूमि सुम्पनुपर्ने सुझाव

रिपोर्टकाअनुसार, अमेरिका प्रस्तावित शान्ति योजनाअनुसार युक्रेनले रूसले कब्जा गरेका भूभागहरू त्याग्नुपर्नेछ। ट्रम्पले क्राइमिया प्रायद्वीप रूससँगै रहने आफ्नो समर्थन दोहोर्याएका छन्, जुन २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको हो। जेलेन्स्कीले भने उक्त विचार अस्वीकार गरेका छन्।

रूसले २०२२ मा युक्रेनमा पूर्ण आक्रमण थालेपछि हाल करिब २०५ युक्रेनी भूभाग रूसी नियन्त्रणमा छ।

शुक्रबार विटकॉफको मस्को आगमनसँगै भएको तीन घण्टा लामो वार्ता ‘धेरै उपयोगी’ भएको पुटिनका सल्लाहकार युरी उशाकोभले बताएका छन्।

उनले भनिन्, ‘रूसी र अमेरिकी धारणा नजिकिएको छ, विशेषतः युक्रेनी संकटमा प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भयो।’

यसै हप्ता, पुटिनले पहिलोपटक जेलेन्स्कीसँग वार्ताका लागि तयार रहेको संकेत दिएका थिए। जेलेन्स्कीले भने अमेरिका प्रस्तावित ३० घण्टे इस्टर युद्धविरामलाई ३० दिनसम्म लम्ब्याउने चाहना व्यक्त गरेका थिए, यद्यपि युद्धविराम अहिलेसम्म भएको छैन।

अमेरिकी प्रस्ताव, युरोपेली असहमति र नाटोको सदस्यतामा रोक
रोयटर्सका अनुसार, अमेरिका, युरोपेली अधिकारीहरूलाई दिएको प्रस्तावमा रूसले कब्जा गरेका क्षेत्रहरूमा अमेरिकी कानुनी मान्यता दिने उल्लेख छ। साथै, यूक्रेनलाई नाटो सदस्य बन्न नदिने शर्त पनि राखिएको छ।

तर युरोपेली र युक्रेनी धारणा फरक रहेको देखिन्छ। उनीहरू युद्धविरामपछि मात्र युक्रेनी भूभागको भविष्यबारे छलफल गर्न चाहन्छन्।

ट्रम्पले पुटिनसँग वार्ता भइरहेका बेला पत्रकारहरूलाई भने, ‘हामी धेरै नजिक छौं र राम्रो सम्झौताहरू – व्यापार तथा ट्यारिफसम्बन्धी पनि आउनेछ।’

दुर्घटनाहरू, खनिज सम्झौता र ट्रम्पको आरोप
ट्रम्पले भने जेलेन्स्कीले अमेरिकासँगको दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर नगरेको आरोप पनि लगाए। उक्त सम्झौता फेब्रुअरीमा हस्ताक्षर हुने भनिएपनि दुबै नेताबीचको तनावले ढिलाइ भएको थियो।

यसैबीच, रूसमा एक वरिष्ठ रूसी जनरल कार बम आक्रमणमा मारिएका छन्। क्रेमलिनले युक्रेनलाई दोष दिएको छ, तर कीभले यसबारे कुनै टिप्पणी गरेको छैन।

जेलेन्स्कीले रूसले उत्तर कोरियाबाट हतियार आयात गरी प्रयोग गरेको आरोप लगाएका छन्। बिहीबार किभमा भएको मिसाइल आक्रमणमा १२ जनाको मृत्यु भएको थियो, र दर्जनौं घाइते भएका थिए। उनले मिसाइलमा अमेरिकी कम्पनीहरूले बनाएका ११६ भागहरू भएको दाबी गरे।

अन्त्यमा, ट्रम्पले दुबै पक्षमाथि दबाब दिइरहेको बताउँदै, पुटिनलाई सामाजिक सञ्जालमा ‘भ्लादिमिर स्टप !’ भनेर सम्बोधन गरेका छन्।