आईडिल यमुना सहकारीका संचालक, व्यवस्थापकलाई कार्यालय बन्द गरी सबै कागजात बुझाउन निर्देशन

182
Shares


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडिल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका संचालक, व्यवस्थापक तथा कर्मचारीलाई कार्यालय बन्द गरी सम्पूूर्ण कागजात बुुझाउन निर्देशन दिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८१ चैत १९ गतेको निर्णयबाट समस्याग्रस्त घोषणा भएको सहकारीको कार्यालय बन्द गरी सबै कागजात बुुझाउन निर्देशन दिएको हो ।

सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सहकारी ऐनको दफा १०५ बमोजिम समिति समक्ष लेखी आएकोमा सोहि ऐनको दफा १११(१) बमोजिम सहकारी संस्थाको संचालक समिति, व्यवस्थापक तथा कर्मचारीको अधिकार स्वतः निलम्वन भएको जनाएको छ ।

समितिले सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु यस समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोबार नगर्नु नगराउन निर्देशन दिएको छ ।

सञ्चालक, व्यवस्थापक र कर्मचारीले समितिसमक्ष उपस्थित भई आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न साथै साविक सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुसँग कुनै पनि कारोवार नगर्न भनेको छ ।

बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भए पछि यस समितिसमक्ष निवेदन पेश गर्न भनेको छ ।समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र समन्वय गरी काम कारवाही गर्न भनेको छ ।

आईडिल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था) मर्ज भएर बनेको संस्था हो ।