
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले विश्वव्यापी आर्थिक वृद्धि कमजोर बनाउने र मुद्रास्फीति बढाउने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दिएको छ ।
आईएमएफले विश्वव्यापी व्यापार युद्धले विश्वको आर्थिक वृद्धिमा गिरावट ल्याउने र मुद्रास्फीति दर वृद्धि गराउने चेतावनी दिएको छ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले हालै वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै ट्यारिफ तथा अन्य व्यापारिक अवरोधहरूको कारण विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताइन्।
‘ट्यारिफ तथा गैर-ट्यारिफ अवरोधहरूले व्यापारको प्रवाहलाई मोड्ने गर्छ। यसले केही क्षेत्रमा अभाव र केही क्षेत्रमा अत्यधिक आपूर्ति हुने अवस्था ल्याउँछ। यस्तो असन्तुलनले आर्थिक लागत बढाउँछ,’ उनले भनिन ।
जोर्जिएवाले यद्यपि हाललाई विश्वव्यापी मन्दीको तत्काल खतरा नरहेको जनाएकी छिन्। तर व्यापारमा जारी तनाव र नीतिगत अनिश्चितताले लगानीमा गिरावट आउन सक्छ र दीर्घकालीन असर पुर्याउन सक्छ।
उनले प्रमुख अर्थतन्त्रहरूलाई खुलापन कायम राख्दै निष्पक्ष र सन्तुलित व्यापार प्रणालीतर्फ उन्मुख हुन आग्रह गरिन्। साथै, आर्थिक असमानता र विश्वव्यापीकरणबाट सबैले लाभ नपाएको यथार्थ स्वीकार गर्दै उनले यस संकटलाई अवसरमा रूपान्तरण गर्दै समावेशी र लचिलो अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्।
आईएमएफले आगामी सातामा सार्वजनिक गर्ने नयाँ आर्थिक पूर्वानुमानमा व्यापार युद्धको असर स्पष्ट देखिने बताइएको छ।
जोर्जिएवाले विश्व बैंकका अध्यक्ष अजय बंगा, अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेल र जेपी मोर्गन चेइसका सीईओ जेमी डाइमोनलगायत अन्य वैश्विक नेताहरूको चेतावनीमा थप जोड दिएकी हुन्।
“व्यापार पानीजस्तै हो”
‘ट्यारिफ तथा गैर-ट्यारिफ बाधाहरू जस्ता अवरोधहरू बनाउँदा व्यापारको प्रवाह अन्यत्र मोडिन्छ। केही देशका केही क्षेत्रहरू सस्तो आयातले भरिन सक्छन् भने अन्य ठाउँमा अभाव हुन सक्छ। व्यापार त चलिरहन्छ, तर बाधा पुर्याउँदा त्यसको मूल्य तिर्नुपर्छ,’ जोर्जिएवाले भनिन्।
आईएमएफले यस वर्षको सुरूमा विश्व आर्थिक वृद्धिलाई ३.३ प्रतिशतको सकारात्मक अनुमान गरेपनि ट्रम्पको व्यापार युद्धले त्यसमा गम्भीर असर पार्दै आएको छ। एचएसबिसी होल्डिङ्सका अर्थशास्त्रीहरूले अब उक्त अनुमान घटाएर २.५ प्रतिशत बनाएका छन्।
आईएमएफले आउँदो साता सार्वजनिक गर्ने नयाँ पूर्वानुमानले ट्रम्पको नीतिले विश्व अर्थतन्त्रमा पुर्याएको क्षतिको स्पष्ट तस्वीर दिने जोर्जिएवाले जनाइन्।
वैश्वीकरण सबैका लागि लाभदायक थिएन
‘वैश्विक आर्थिक एकीकरणले धेरै मानिसलाई गरिबीबाट उठाएको छ र विश्वलाई समग्रमा समृद्ध बनाएको छ। तर सबैले यसबाट लाभ लिन सकेनन्। धेरैले आफूले भोगेको अन्यायको दोष अन्तर्राष्ट्रिय आर्थिक प्रणालीलाई दिन्छन्,’ जोर्जिएवाले भनिन्।
सन्तुलित र सशक्त अर्थतन्त्रको खाँचो
जोर्जिएवाका अनुसार अब समाधानको उपाय भनेको प्रमुख अर्थतन्त्रहरूबीचको सहमति हो, जसले खुलापनलाई कायम राख्दै निष्पक्षता ल्याउने हो।
चीनले निजी खपत बढाउनुपर्ने, युरोपेली देशहरूले आपसमा अझ बढी आर्थिक एकता कायम गर्नुपर्ने, जर्मनीको शैलीमा रक्षा र पूर्वाधारमा खर्च बढाउनुपर्ने र अमेरिकाले आफ्नो राष्ट्रिय ऋण घटाउनेजस्ता चुनौती समाधान गर्नुपर्ने जोर्जिएवाको सुझाव थियो।
‘संकटको उपयोग गरेर विश्वले सन्तुलित र थप लचिलो अर्थतन्त्र निर्माण गर्नुपर्नेछ,’ उनले जोड दिइन्।
अन्तर्राष्ट्रिय संस्था र अमेरिकी नीतिबीचको द्वन्द्व
आईएमएफ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्था स्वयं पनि अहिले आफ्नै अस्तित्वबारे प्रश्नहरूको सामना गरिरहेका छन्। अमेरिकी प्रशासनले जलवायु परिवर्तन र अन्य नीतिगत मुद्दामा देखाएको असहयोगका कारण यी संस्थाहरूको विश्वसनीयता प्रभावित भएको देखिन्छ।
संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएकोले आईएमएफ र विश्व बैंकको मार्गदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ। तर, ट्रम्प प्रशासनका प्राथमिकताहरू यी संस्थाहरूका बहुपक्षीय एजेन्डासँग मेल नखाने देखिएको छ।
रक्षा नीतिको नाममा संरक्षणवादको पुनरुत्थान
जोर्जिएवाले भनेकी छन् कि विगतका दशकमा उदारीकरण र विश्वव्यापीकरणका कारण कतिपय क्षेत्रमा रोजगारी गुमेपछि केही समुदायमा अन्यायको भावना पैदा भएको छ। यिनै भावनाहरूले राष्ट्रिय सुरक्षाका कारण देखाउँदै संरक्षणवादको पुनरुत्थान गराएका छन्।
तर, यस्ता नीतिहरूले साना तथा विकासशील अर्थतन्त्रहरूलाई प्रभावित पार्दै मूल्यवृद्धि गरिरहेको र उत्पादकत्वमा गिरावट ल्याइरहेको उनले बताइन्।
समाधानको खाका
उनका अनुसार व्यापार नीतिमा समाधान भनेको प्रमुख अर्थतन्त्रहरूबीच निष्पक्ष र खुला वातावरण कायम राख्ने समझदारी हो।
‘हामीले फेरि खुला व्यापारप्रति विश्वव्यापी प्रवृत्ति सुरु गर्नुपर्छ, जसमा ट्यारिफ दरहरू घटाइनेछ र गैर-ट्यारिफ अवरोध तथा विकृतिहरू कम गरिनेछ,’ जोर्जिएवाले भनिन्।








प्रतिक्रिया