
काठमाडौं । फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै न्यून देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ५.५७ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मंसिरमा बढेर ६.०५ प्रतिशतसम्म पुगेको थियो । पुसयता लगातार घट्दो क्रममा देखिएकोमा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको फागुनमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो।
फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको सुरुवताबाट नै लगातार उच्च देखिएको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति फागुनमा भने गैर–खाद्य तथा सेवा समूहको भन्दा न्युन देखिएको छ । बुधबार मात्रै भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले खाद्य पदार्थको मुद्रास्फीति घट्दा समग्र मुद्रास्फीति नै पछिल्लो त्रैमासमा ४ प्रतिशतभन्दा तल झरेको उल्लेख गरेको थियो । साथै आगामी १२ महिना ४ प्रतिशतकै करिब रहने र खाद्यत पदार्थको मुद्रास्फीति त्यसलाई सहयोग गर्ने विश्लेषण आरबीआईका मौद्रिक नीति समितिले गरेको थियो ।
भारतको मुद्रास्फीतिको प्रभाव नेपालमा प्रत्यक्ष रुपमा पर्ने र भारतमा खाद्य समुहको मुद्रास्फीति घटेसँगै नेपालमा पनि घटेको छ । जसले समग्र मुद्रास्फीति नै घटाउन सहयोग पुगेको छ । गत आर्थिक वर्षको फागुनमा पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति गैर–खाद्य तथा सेवा समूहको भन्दा उच्च थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९५ प्रतिशत हुँदा गैर–खाद्य तथा सेवा समूहको ४.०७ प्रतिशत थियो ।
फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।
ग्रामिण क्षेत्रमा उच्च महँगी
फागुनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत छ ।
यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।
२०८१ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो। फागुनमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ८.०२ प्रतिशत मध्यवर्ती वस्तुको २.५७ प्रतिशत र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.१७ प्रतिशत छ । फागुनमा निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया