विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा दोस्रो पटक नियुक्त भएका शाक्य को हुन् ?

3.2k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको हो ।

को हुन् शाक्य ?

हितेन्द्र देव शाक्य दोस्रो पटक प्राधिकरणको प्रबन्ध निर्देशक बनेका छन् । दोस्रो पटक नियुक्त भएका शाक्य इलामका स्थायी बासिन्दा हुन् ।

उनी प्रसारणलाइन विज्ञ हुन् । लामो समय उपकार्यकारी निर्देशक ‍भएर एनईए इन्जिनियरिङ कम्पनीमा काम गरेको अनुभव उनीसँग छ । उनी प्राविधिक रुपमा सक्षम व्यक्ति हुन् । व्यवस्थापकीय रुपमा भने उनी कमजोर भएको टिप्पणी प्राधिकरणभित्रै हुने गरेको छ ।

उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

२०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय गर्‍यो । घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको प्रमुखमा सरकारले नियुक्त गरेसँगै प्राधिकरणमा प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गर्‍यो ।

शाक्यलाई सचिव सरहको सुविधा दिने गरी ऊर्जा आयोगमा विज्ञको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय भयो । २०७७ माघमा ४ वर्षका लागि नियुक्त भएका शाक्य सरकारले जबरजस्ती हटाएको भन्दै सर्वोच्च अदालत पुगेका थिए  ।

प्राधिकरणको प्रबन्ध निर्देशकमा थमौती गर्ने गरी अन्तरिम आदेश माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरे । मन्त्रिपरिषद्ले अवैधानिक रुपमा कुलमान घिसिङलाई प्रबन्ध निर्देशक बनाएको भन्दै उनी सर्वोच्च पुगेका थिए ।

तर, सर्वोच्चबाट कुनै फैसला नभई उनको कार्यकाल सकियो । अदालतबाट कुनै निर्णय नभई कार्यकाल सकिएपछि उनलाई प्रधानमन्त्री ओलीले अन्याय भएको बताउँदै आएका थिए ।

सरकारको निर्देशन अटेर गरेपछि घिसिङलाई सरकारले स्पष्टीकरण सोध्यो । हटाउने तयारी बुझेका शाक्य प्राधिकरणमा पुन: नियुक्त पाउने दौडधुपमा केहि समयदेखि लागेका थिए ।