
विराटनगर । औद्योगिक प्रतिष्ठानमा दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग हुने विषयप्रति गम्भिर ध्यानाकर्षण भएको उद्योग संगठन मोरङले जनाएको छ । संगठनले मंगलबार विज्ञप्ती जारि गर्दै औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग हुन सक्ने विषयप्रति चिन्ता व्यक्त गरेको हो ।
संगठनले अहिले नै गत पुसदेखि अघोषित रुपमा दैनिक ६ घण्टासम्म मोरङ औद्योगिक करिडरले लोडसेडिङ्गको मार खेप्नु परिरहेको अवस्थामा थप लोडसेडिङ्ग हुँदा त्यस क्षेत्रका औद्योगिक क्षेत्र धरासायी हुने औंल्याएको छ ।
संगठनले लोडसेडिङ्गको समस्या तत्काल समाधान गर्न सरकारसँग मागसमेत गरेको छ । भारतबाट आयात हुँदै आएको बिजुली बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रुपमा कटौती हुने समाचार आएपछि संगठनले यस्तो चासो देखाएको हो ।
‘भारतबाट आयात कटौती भई विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरुलाई आश्चर्य चकित मात्रै बनाएको छैन,’ विज्ञप्तिमा भनिएको छ,‘विद्युत आपूर्तिको दीर्घकालिन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ ।’
आफ्नै मुलुकमा प्रचुरमात्रामा जलस्रोत भएपनि लोडसेडिङ्गको समस्या समाधान गर्न सरकारले दीर्घकालिन उपाय कार्यान्वयनमा नल्याउँदा उद्योगीहरु बर्षेनी यस्ता समस्याबाट प्रताडित हुन पुगेको संगठनको भनाई छ ।
प्रतिक्रिया