१ नम्बर वरियतामा रहेका दीपक थापा बने नेपाल प्रहरीको ३१ औं महानिरीक्षक, यस्तो छ विगत


काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।

थापा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन् ।

वसन्त कुँवरले सोमबार अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए । उनी ३० वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । कुँवरलाई सोमबार साँझ नै गृह मन्त्रालयले बिदाइ गरिसकेको छ ।

कुँवरसँगै उनका ब्याचमेटहरू एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा गएका छन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका थिए । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।

नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापासहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए । तर, ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि रहेका कारण उनलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको हो ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । उनले यो अवधिका लागि ८९ हजार जना सम्मिलित फौजको कमान्ड सम्हाल्नेछन् ।

थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन प्रहरी सेवामा प्रवेश गरेका अधिकारीहरू हुन् । तिनमध्ये थापा एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । थापा एआईजीको वरियतामा १ नम्बरमा थिए ।

अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ गरिसकेको छ भने सोमबार प्रहरी हेडक्वाटरले कुँवरको औपचारिक बिदाइ गरेको छ । नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार सेवा अवधिको ३० वर्षे समय पूरा गरी प्रहरी महानिरीक्षक कुँवरले सोमबार अवकाश पाएका हुन् । उनीसँगै पाँच एआइजी र तीन डीआइजीले पनि चैत ४ गते मध्यरातबाट अवकाश पाउँदैछन् । उनीहरूले २०५१ चैत ५ गते इन्स्पेक्टर पदबाट प्रहरीको जागिर सुरु गरेका हुन् ।

दीपक थापाले इन्स्पेक्टरको बेसिक तालिम पूरा गरेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा (रौतहट) को प्रमुखको रूपमा कार्य गरेका थिए। उनले नेपाल प्रहरी स्कुल साँगा र प्रहरी स्कुल दिपायलमा पनि सेवा दिएका छन्। सशस्त्र द्वन्द्वकालमा उनी इलाका प्रहरी कार्यालय मैकोट (रुकुम) मा रहेर काम गरेका थिए। त्यसपछि उनी इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा सेवारत भए । इन्स्पेक्टर दर्जामै उनले प्रहरी हेडक्वार्टरको कर्मचारी शाखामा पनि काम गरेको अनुभव छ।

डीएसपीमा बढुवा भएपछि थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको कमान्ड २ वर्षसम्म सम्हाले। उनी बाबुराम भट्टराईको कार्यकालमा प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार र प्रहरी वृत्त महाराजगञ्जको प्रमुखको रूपमा पनि कार्यरत रहे। महाराजगञ्ज वृत्तमा १९ महिनासम्म कमान्ड गरेका थापाले इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्जको रूपमा काम गरे। उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र मकवानपुरमा पनि सेवा दिएका छन्।

एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर (बुटवल) कार्यालयमा प्रहरी प्रमुखको रूपमा कार्यरत रहे। एसपी दर्जामै उनले जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी मुख्यालयको बजेट शाखामा पनि काम गरे । उनी चितवन प्रहरी प्रमुख रहेका बेला भरतपुर महानगरको मतपत्र च्यात्ने घटना घटेको थियो ।

एसएसपीमा बढुवा भएपछि थापाले आर्थिक प्रशासन महाशाखा र अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) को प्रमुखको रूपमा कार्य गरे। डीआईजीमा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी प्रमुखको पदमा सेवारत रहे।

एआईजीमा बढुवा भएपछि थापाले प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको रूपमा काम गरे। यी विभिन्न पदहरूमा उनले प्राप्त गरेको व्यापक अनुभवले उनलाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) को रूपमा नियुक्त हुन मद्दत गरेको छ।