तामाकोशी पाँचौंका श्रमिक भन्छन्- सिनो हाइड्रोले नेपालको श्रम ऐन पालना नगरे आन्दोलन रोक्दैनौँ


काठमाडौं । तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो-केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

दोलखाको बिगु गाउँपालिका-४ लादुकको सुरीटारमा निर्माणाधीन आयोजनाअन्तर्गत अडिट-१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि ६ दिनयता नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका छन् ।

आन्दोलनरत उनीहरूले हिजो आइतबार आयोजनाको सिस्नेरीमा रहेको अडिट-२ मा धर्ना दिएका थिए । नेपाली श्रमिकहरू आन्दोलित भएपछि निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट-१ र २ को कामकाज ठप्प भएको छ ।

आफूहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट-१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूले बताएका छन् । कम्पनीमाथि दबाब सृजना गर्न उनीहरूले ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दै आएका छन् ।

सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि फागुन २८ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पारिएको सहसंयोजक मदन श्रेष्ठले बताए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।

उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच गत फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।

उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बिमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए ।

त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न/बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।

नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ। हाल तामाकोशी पाँचौंमा करिब ५ सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपालीमात्रै छन् ।