ट्रम्प र पुटिनबीच युद्ध अन्त्य गर्नेबारे वार्ता हुने: युक्रेनले मान्छ रुसको प्रस्ताव ?

1.1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने योजना बनाएका छन् । उनीहरूले युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्ने सीएनएनले जनाएको छ ।

‘हामी यस युद्धलाई अन्त्य गर्न सकिन्छ कि सकिन्न भन्ने बुझ्न चाहन्छौं,’ ट्रम्पले फ्लोरिडाबाट वासिङ्टन फर्कंदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूलाई भने, ‘सकिन्छ कि सकिन्न, तर मलाई राम्रो सम्भावना देखिन्छ ।’

ट्रम्पले आफूले मंगलबार राष्ट्रपति पुटिनसँग कुरा गर्ने बताए । यसबारे धेरै काम भइसकेको उनको भनाइ छ ।

ट्रम्प रुसी समर्थन जुटाएर ३०-दिनको युद्धविराम प्रस्ताव कार्यान्वयन गर्न चाहन्छन् । गत हप्ता युक्रेनले यो प्रस्ताव स्वीकार गरेको थियो । तर दुवै पक्षले हप्ताभर हवाई आक्रमण जारी राखे ।

यसैबीच, रूसले पश्चिमी रूसको कुर्स्क क्षेत्रमा युक्रेनी फौजहरू हटाउने अभियान तीव्र बनाएको छ ।

क्रेमलिनले यो विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

शुक्रबार क्रेमलिनले ट्रम्पलाई अमेरिकी दूत स्टिभ विटकोफमार्फत सन्देश पठाएको थियो । पुटिनले ट्रम्पको युद्धविराम योजनाबारे ‘सावधानीपूर्वक आशावादिता’ देखाएको क्रेमलिनले जनाएको छ ।

आइतबार अमेरिकी टेलिभिजन कार्यक्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियो ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र अमेरिकी दूत विटकोफले युद्धविरामबारे थप छलफल आवश्यक रहेको बताएका थिए ।

रुसका उपविदेशमन्त्री अलेक्जान्डर ग्रुश्कोले सोमबार रुसी समाचार संस्था इजभेस्टियालाई दिएको अन्तर्वार्तामा यो सम्झौतामा ‘दृढ सुरक्षा ग्यारेन्टी’ समावेश गर्ने उल्लेख गरे ।

रुसले युक्रेनलाई तटस्थ राख्नुपर्ने, नेटो सदस्य बन्न नपाउने र कब्जा गरिएका भूभागहरू रूसमै रहने ग्यारेन्टी खोजेको छ । पुटिनले नेटो विस्तारलाई रूसको सुरक्षा खतरा भनेका छन् । उनले पश्चिमी प्रतिबन्ध हटाउनुपर्ने, युक्रेनी सेनाको आकार घटाउनुपर्ने र युक्रेनमा राष्ट्रपतीय चुनाव गरिनुपर्ने शर्त पनि राखेका छन् ।

युक्रेनको अडान

युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने राम्रो सम्भावना देखेको बताएका थिए । तर उनले युक्रेनी सार्वभौमिकता कुनै हालतमा सम्झौतामा राख्न नसकिने स्पष्ट पारेका छन् ।

जेलेन्स्कीले भनेका छन्, ‘रूसले हडपेको भूमिबाट फिर्ता जानुपर्छ ।’

ट्रम्पले युक्रेनभन्दा रुससँग राम्रो सम्बन्ध बनाउन खोजेको देखिन्छ । गत महिना उनले जेलेन्स्कीलाई भेटेका थिए तर बैठक तनावपूर्ण भएपछि जेलेन्स्की बीचैमा ह्वाइट हाउसबाट बाहिरिएका थिए ।

ब्रिटेन र फ्रान्सले युद्धविराम भएमा युक्रेनमा शान्ति सेना पठाउने प्रस्ताव गरेका छन् । तर रूसले युद्ध नसकिएसम्म कुनै शान्ति सेना स्वीकार नगर्ने बताएको छ ।

‘चाहे यो नेटोको होस्, यूरोपियन युनियनको होस् वा कुनै राष्ट्र विशेषको युक्रेनमा विदेशी सेना आउनु भनेको प्रत्यक्ष युद्ध संलग्नता हो,’ ग्रुश्कोले भने ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले भनेका छन्, ‘युक्रेनमा शान्ति सेना पठाउने निर्णय युक्रेनले गर्ने कुरा हो, रूसले होइन ।’