
काठमाडौं । नेपालको पहिलो उपभोक्ता अदालत(कन्ज्युमर कोर्ट) को आज उदघाट्न हुँदैछ । आज उदघाट्न हुने यो अदालत भोली(आइतबार) देखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
सर्वोच्च अदालतका प्रधानन्याधिश प्रकाशमानसिंह राउत र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संयुक्त रुपमा उक्त उपभोक्ता अदालतको आज एक कार्यक्रमका बीच उदघाट्न गर्न लागेका हुन् ।
सरकारले यो अदालत विश्व उपभोक्ता अधिकार दिवस (फागुन २ गते) देखि सञ्चालनमा आउने भनेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा २ अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई केन्द्रित हुने गरी उपभोक्ता अदालत गठन गर्ने गत साता सरकारले निर्णय गरेको थियो ।
विश्व उपभोक्ता संरक्षण दिवसको अवसर पारेर यो अदालतको विधिवत् रुपमा उदघाट्न गर्न लागिएको मन्त्रालयको सचिवालयले जनाएको छ ।
सुरुआति समयमा ववरमहलमा यो अदालत स्थापना गर्ने योजना भएपनि अहिले त्रिपुरेश्वरस्थित उद्योग विभागसँगैको पुरानो सरकारी भवनमा यो अदालतको भौतिक पूर्वाधार तयार पारिएको छ ।
भौतिक पूर्वाधार संरचना तयार पार्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक बर्षमा १ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
यो अदालतको लागि गत माघ ३० गते सरकारले दुई न्यायाधीश तोकेको थियो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तीन जना न्यायाधीश तोकिएको थियो ।
मन्त्रालयले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश रामप्रसाद शर्मालाई उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।
यस्तै दुई सदस्यहरुमा नेपाल न्यायसेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई नियुक्त गरेको थियो ।
उपभोक्ता ठगी, महङ्गी, कालोबजारी, मिसावट, गुणस्तरहिन वस्तुका मुद्दाहरु यो अदालतबाट हेरिने व्यवस्था मिलाइएको छ । उपभोक्ता हित विपरीतको क्रियाकलापमा संलग्न सरकारी वा नीजि क्षेत्रका व्यक्ति तथा संस्था कारबाहीको दायरामा ल्याउन यो अदालत कोशे ढुँगा सावित हुने बताइएको छ ।
प्रतिक्रिया