स्विट्जरल्याण्डबाट फर्केर कफी ब्राण्डिङमा लागेका अभिनायक


विराटनगर । लाखौं रुपैयाँ खर्च गरेर विदेशमा अध्ययन गर्न पुगेका नेपाली युवायुवती अध्ययनपछि रोजगारीका लागि उतै बस्ने गरेका छन् । अहिले पनि दिनहुँ हजारौं युवायुवती अध्ययन र भविष्य खोज्दै विदेश उड्ने सङ्ख्या कम छैन । यस क्रमले मुलुक क्रमशः युवाशक्ति विहीन हुँदै गइरहेको छ ।

यसबेला प्रायः हरेक नेपालीको जिब्रोमा ‘छोराछोरी भविष्यको खोजी गर्दै पढ्न र रोजगारीका लागि विदेश उडेका छन् । उनीहरू उतै बस्नेछन् । नेपाल फर्कदैनन् होला’ भन्ने शब्द झुण्डिएको छ । तर विराटनगरका एक युवकले सपनाको देश स्विट्जरल्याण्डको न्युसेटल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार विकास र इकोनोमिक्स विषयमा मास्टर्स गरेर त्यहाँको अवसर छाडेर जन्मथलो फर्किएका छन् ।

विराटनगर ६ केशलीया मार्गका ३८ वर्षीय अभिनायक मल्ल सन् २०१४ मा स्विट्जरल्याण्डको सरकारी विश्वविद्यालय न्युसेटलबाट मास्टर्स सकेपछि त्यहाँ मासिक ४/५ लाख नेपाली रुपैयाँ कमाउने र स्थायी निवास (पीआर) पाउने अवसर छाडेर नेपाल फर्किएका हुन् ।

उनले अध्ययनकालमै नेपालको अर्गानिक चिया र अरबिका जातको कफी नमुना स्विट्जरल्याण्ड लगेर स्थानीयहरूलाई चखाउँदा ‘यस्तो स्वादको चिया र कफी तपाईंको देशमा उत्पादन हुन्छ र ?’ भन्ने प्रतिक्रिया पाएका थिए ।

एक रात नेपाल फर्केर के गर्ने सोच्दै निन्द्रा नलागेपछि उनले कफी ब्राण्डिङ गर्ने निर्णय गरे । तर २०१५ को भूकम्पले योजना स्थगित भयो । उनले पुनर्निर्माण सामग्री आपूर्ति व्यवसायका लागि मल्ल इन्टरप्राइजेज सञ्चालन गरे । पछि अमेरिका, युरोपको बजार अध्ययन गरी नेपाली कफीको सम्भावना देखेर इलामको देउमाईमा अरबिका कफीको बगान सुरु गरे ।

‘नेपालमा अरबिका कफीको स्वाद अन्तर्राष्ट्रिय बजारमा अत्याधिक मन पराइने मध्येको एक हो । यसले गर्दा मैले यसलाई ब्राण्डिङ गर्ने निर्णय गरेँ,’ मल्लले भने ।

भारतीय व्यावसायीले नेपाली चियालाई रिप्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाएको आफूले देखेको उनको भनाइ छ ।

‘भारतीय व्यापारीले नेपाली चियालाई आफ्नो ब्राण्डमा रिप्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाएको देखेपछि म निराश भएँ । यसैले कफीमा केन्द्रित भएँ,’ उनले भने ।

उनले अरबिका कफीमा नेपालको उच्च सम्भावना रहेको बताए ।

‘हाल नेपालले वार्षिक ४५० टन अरबिका कफी उत्पादन गर्छ, तर अन्तर्राष्ट्रिय माग ८–९ हजार टन छ । यसले हाम्रो सम्भावना देखाउँछ,’ उनले भने ।

युरोपमा कच्चा कफी १२–१३ डलरमा निर्यात हुने तर त्यहाँ रोस्ट गरेर ४० डलरमा बिक्री हुने गरेको भन्दै उनले नेपालले ब्राण्डिङ गर्न सके मूल्य बढ्ने बताए ।

‘युरोपमा ग्रिन बिन प्रतिकिलो १२–१३ डलरमा निर्यात गर्छौं, तर त्यहाँ रोस्ट गरेर ४० डलरसम्म बिक्री हुन्छ । नेपालले आफ्नै ब्राण्डिङ गर्न सके मूल्य वृद्धि हुने छ,’ मल्लले भने ।

त्यसका लागि नेपाल सरकारले किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालमै केही नयाँ गरौं भनेर स्विट्जरल्याण्डको अवसर छाडेर आएको हुँ । सरकारले किसानलाई प्रोत्साहन गर्ने हो भने नेपाली कफीले अन्तर्राष्ट्रिय बजार कब्जाउन सक्छ,’ उनी बताउँछन् ।

उनले करिब ३५ लाखको लागतमा तीन वर्षअघि विराटनगरको हनुमान रोडमा वेक अफ कफी क्याफे पनि सञ्चालन गरेका छन् । १५ जनाले रोजगारी पाएको यो क्याफे यसबेला विराटनगरका तरुण तन्नेरीहरुको नियमित अड्डा नै बनेको छ।

वेक अफ कफी क्याफेले स्थानीय बजारमा नेपाली कफीको चासो बढाएको उनी बताउँछन् ।

क्याफेले वार्षिक २२–२५ लाखको कारोबार गर्ने उनले जानकारी दिए ।

मल्ल संयुक्त राष्ट्रसंघीय कफी क्वालिटी च्याम्पियनका एक सर्टीफाइड कफी टेस्टर पनि हुन् । उनी नेपालको कफीको क्वालिटी टेस्टिङको सर्टिफाइड मध्येमा पर्छन् ।

‘अन्तर्राष्ट्रिय बजारको एक तिहाई माग पनि धान्न सकिएको छैन । गुणस्तर र ब्राण्डिङमा ध्यान दिए हामी यसलाई पूरा गर्न सक्छौं,’ मल्लले भने ।

नेपालमा अरबिका र रोबुस्ता कफीको खेती हुन्छ ।

रोबुस्ताको खेती बढी हुन्छ । यो तराईमा पनि फल्छ । अरबिका पहाडमा मात्र फल्छ । उनले भने, ‘अरबिकाको स्वाद अन्तर्राष्ट्रिय बजारमा अत्याधिक मन पराइने मध्येको एक हो ।’

इलामको देउमाईमा अरबिका कफीको खेती सुरु गरेपछि पहिलो वर्ष ८ टन उत्पादन भएको उनले बताए । त्यसपछि अरू किसानले पनि कफी खेतीलाई व्यवसायीक रूपमा गर्न थाले । मल्लले भने, ‘यसबेला इलाममा मात्र वार्षिक झण्डै १०० टनको हरियो दानाको उत्पादन छ । किसानले हरियो दानाको प्रतिकिलो १०० रुपैयाँ मूल्य पाउँछन् ।’

यो सँगै कफी खेती यसबेला इलाम, पाँचथर, धनकुटा, गुल्मी, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र मोरङको पहाडी क्षेत्रमा विस्तार भएको छ । उनका अनुसार हाल नेपालमा अरबिका कफी वार्षिक करिब ४ सय ५० टन उत्पादन छ । मल्लले भने, ‘नेपाली कफी (ग्रिन बिन) को अन्तर्राष्ट्रिय माग वार्षिक ८–९ हजार टन छ । उत्पादित कफीमध्ये ९५ प्रतिशत अमेरिका, जापान, अस्ट्रेलिया लगायत यूरोपीयन बजारमा निकासी हुँदै आएको छ ।’