
काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम तथा जलविज्ञान पूवार्नुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका केहि उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया