भिभान्ता होटलको व्यापार घट्यो, साढे १४ करोड आम्दानी

7.6k
Shares

काठमाडौं । राजधानीको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले चालु आर्थिक वर्षको ५ महिनामा साढे १४ करोड रुपैयाँको मात्र व्यापार गरेको छ । भिभान्ताले गत वर्षको अनुपातमा निकै कम व्यापार गरेको हो ।

सन् २०२४ मा ३७ करोडको कारोबार गरेको होटलले सन् २०२५ को ५ महिनामा १४ करोड ५० लाख रुपैयाँको मात्र व्यापार गरेको हो। यो अनुपातमा चालु आवमा करिब ३५ करोडको मात्र व्यापार हुने अनुमान लगाउन सकिन्छ ।

गत वर्ष १२ प्रतिशत प्रोफिट मार्जिन रहेको होटल हाल सञ्चालन घाटामा चलिरहेको छ । अर्थात् ५ महिनामा होटलको आम्दानी भन्दा खर्च कुल व्यापारको ६ प्रतिशत अर्थात् करिब ८७ लाख रुपैयाँ बढी छ ।

कम्पनीले यसअघि सन् २०२३ मा ३३ करोड २० लाखको कारोबार गरेको थियो । सो वर्ष प्रोफिट मार्जिन ४५ प्रतिशत थियो ।

सन् २०१४ मा स्थापित आर एन्ड आर होटल एन्ड रिसोर्ट प्रालिको स्वामित्वमा छ, झम्सिखेलमा सञ्चालनमा रहेको प्रस्तावित ४ चारे होटल भिभान्ता काठमाडौं ।

भिभान्ता सन् २०१९ को जनवरिदेखि सञ्चालनमा आएको हो । आर एन्ड आर चौधरी ग्रुप र आईजे ग्रुपको संयुक्त उपक्रम हो । होटलमा चौधरीको ७५ प्रतिशत र आईजेको २५ प्रतिशत स्वामित्व छ । होटलको व्यवस्थापन १८ वर्षका लागि इन्डियन होटल्स कम्पनीले लिएको छ ।

होटलले कर्जाको किस्ता तिर्न थालेपछि सञ्चालन नाफा ऋणात्मक देखिन थालेको हो । होटलले गत अक्टोबरदेखि सुरु हुने गरी कोरोना महामारीमा तिर्नुपर्ने किस्ता ८ महिनामा तिरिसक्नुपर्ने गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण भएको थियो । यसरी बुझाउने किस्तामा पनि समस्या देखिएपछि क्रेडिट रेटिङ एजेनसी इक्राले रेटिङ नै घटाइदिएको छ ।

होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड रुपैयाँका लागि रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ८१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएकामा क्रमशः एलडी र डी रेटिङ पाएको हो । यसअघि होटलले दीर्घकालीन ऋणका लागि एलबी र एफोर रेटिङ रेटिङ पाएको थियो ।

होटलले विगतमा लिएको कर्जावापत त्रैमासिकरुपमा १ करोड १० लाख रुपैयाँको किस्ता बुझाउनुपर्ने छ । यसले होटलको तरलता स्थितिमा थप दबाब पर्ने बताइएको छ ।