विराटनगरको बालसुधार गृहमा झडप, तीनजना घाइते

189
Shares

विराटनगर । विराटनगरस्थित बाल सुधारगृहमा दोहरो झडप हुँदा तीनजना घाइते भएका छन् ।

विराटनगर महानगर वडा नम्बर ३ स्थित सुधार गृहमा शुक्रबार राति भएको झडपमा तीन युवक घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरिक्षक नारायण चिमरियाका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । अर्कोतर्फ, सुधार गृहका प्रमुख मिलन चौहानले झडपमा परि घाइते भएका एक जना सुनसरी र बाँकी दुई जना पाँचथरको भएको जानकारी दिए ।

चौहानका अनुसार हाल उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा अदालतले सजाय सुनाएका उनीहरूको अवस्था सामान्य रहेको चौहानले बताए।

चौहानले भने, ‘एक्कासी झगडा भएको थियो । कारणबारे केही प्रस्ट भएको छैन । तर त्यसमा तीनजना भने घाइते भएकाछन् । हाल जिल्लाका प्रहरी प्रमुखले नै घटनाको अनुसन्धान गरिरहरनु भएको छ ।’

सुधारगृहका प्रमुख चौहानले क्षमताभन्दा धेरैलाई एकस्थानमा राख्नु पर्दा समस्या बढेको बताए । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको भए पनि शुक्रबार २ सय ४९ जनालाई राखिएको थियो ।

सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरूको संख्या धेरै छ । १८ वर्षमाथिका १ सय २४ जना युवक छन् । उनीहरू बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । युवा अवस्थामा पुगेकालाई बालकहरूसँगै राखिएको छ ।