ट्रम्पको करविरुद्ध लड्दै क्यानडाली: अमेरिकी सामग्री बहिष्कारले कस्तो पर्छ असर ?

1.4k
Shares

एजेन्सी । क्यालिफोर्नियाका टमाटरको सट्टा इटालियन टमाटर । ओहायोमा बनेको पेपरोनीको सट्टा ओन्टारियो र क्युबेकमा उत्पादित मासु । कोकाकोलाको सट्टा क्यानडाली मेपल सिरपबाट बनेको स्पार्कलिङ पानी । जनवरीको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई गाभ्ने धम्की दिएर यसको अर्थतन्त्र नष्ट गर्ने चेतावनी दिएका बेला टोरोन्टोको पश्चिमी भागमा रहेको ‘ग्राम्स पिज्जा’ का सञ्चालक ग्राहम पल्माटियरले आफ्नो स्टोरबाट अमेरिकी उत्पादन हटाउने निर्णय गरे ।

‘एउटा बिन्दुमा पुगेर मैले भनेँ, बस् ! अब मैले यो गर्नुपर्छ,’ पल्माटियरले सीएनएनसँग भने ।

क्यानडालीहरूमा अमेरिकाप्रति आक्रोश

सधैं शान्त र भद्र मानिने क्यानडामा अहिले एक अनौठो भावना फैलिएको छ: क्रोध । ट्रम्पले क्यानडाली आयातमा व्यापक कर लगाउने धम्की दिन थालेदेखि र क्यानडालाई अमेरिका ‘को ५१औं राज्य’ भनेर जिस्क्याएदेखि क्यानडालीहरूको अमेरिकाप्रतिको असन्तोष बढेको छ ।

क्यानडालीहरूले अमेरिका घुम्न नजाने निर्णय गरिरहेका छन् । खेलकुदमा अमेरिकी राष्ट्रगान ‘द स्टार-स्प्याङ्गल्ड ब्यानेर’ बज्दा हुटिङ गरिरहेका छन् । गत महिना एक आइस हक्की खेलमा त दुबै टिमका खेलाडीहरूबीच मुक्का हानाहान नै भयो ।

पल्माटियरजस्ता व्यवसायीहरूले अमेरिकी उत्पादन बहिष्कार गरेका छन् । तर, क्यानडाको अर्थतन्त्र धेरै दशकदेखि अमेरिका निर्भर रहेको हुँदा यो त्यति सजिलो छैन ।

राष्ट्रवादको लहर

ट्रम्पका कदमहरूले क्यानडामा एउटा दुर्लभ एकताको क्षण सिर्जना गरेको छ । केही महिनाअघि मात्र प्रधानमन्त्री जस्टिन ट्रुडोप्रति व्यापक असन्तोष थियो जसका कारण उनले राजीनामा दिने घोषणा गरे ।

तर, अहिले ट्रम्पको नीतिले कमजोर अवस्थामा रहेको सत्तारूढ लिबरल पार्टीलाई नयाँ जीवन दिएको छ । विपक्षी नेता पिएर पोइल्येभ्रे, जो आगामी चुनावमा जित्ने बलियो उम्मेदवार मानिन्थे अहिले आफ्ना सन्देश पुनःसंरचना गर्न बाध्य भएका छन् ।

‘हामी क्यानडालीहरू अरूसँग झगडा खोज्दैनौं,’ टोरन्टोका डिलन लोबो भन्छन्। उनले ‘मेड इन क्यानडा’ नामक अनलाइन निर्देशिका चलाउँछन् जसमा हाल क्यानडाली उत्पादन खोज्नेहरूको संख्या तीव्र रूपमा बढेको छ ।

‘यो क्यानडामाथिको आक्रमण हो,’ उनले भने ।

क्यानडाली उत्पादनलाई समर्थन

ट्रम्पले मंगलबार क्यानडाली सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि क्यानडाको सरकार र जनताले तुरुन्तै प्रतिक्रिया दिए । लगत्तै, प्रधानमन्त्री ट्रुडोले पनि अमेरिकी सामानमा ३० अर्ब क्यानडाली डलर (२०.८ अर्ब अमेरिकी डलर) बराबरको समान प्रतिशोधात्मक कर लगाउने घोषणा गरे ।

‘हामी क्यानडालीहरू सभ्य र शिष्ट छौं, तर जब हाम्रो देशको भलाइ दाउमा हुन्छ, हामी पछि हट्दैनौं,’ ट्रुडोले भने । ट्रम्पले भने ट्रुडोसँगको फोन वार्तापछि ‘ट्रुडोले सत्ता टिकाइराख्न यो मुद्दा उठाइरहेका’ आरोप लगाए ।

बहिष्कारको प्रभाव

क्यानडाका व्यवसायहरूले अमेरिकी उत्पादनहरू हटाउन थालेका छन् । ओन्टारियोका प्रीमियर डग फोर्डले प्रान्तका सरकारी रक्सी पसलहरूबाट अमेरिकी मदिरा हटाउने निर्देशन दिए । ओन्टारियोको लिकर कन्ट्रोल बोर्डले वार्षिक झण्डै १ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी मदिरा बिक्री गर्ने गर्छ ।

फोर्डले सीएनएनसँग भने, ‘हामी अमेरिकालाई निर्यात गरिने बिजुलीमा २५ प्रतिशत कर लगाउँदैछौं, जसका कारण मिनेसोटा, मिचिगन र न्यूयोर्कका १५ लाख अमेरिकी घरहरू प्रभावित हुनेछन् ।’

ट्रम्पले पहिलो कार्यकालमा पनि क्यानडाली स्टिलमा २५ प्रतिशत कर र आल्मुनियमा १० प्रतिशत कर लगाएका थिए । त्यसबेला लोबोले ‘मेड इन क्यानडा’ वेबसाइट सुरू गरेका थिए । अहिले उनको वेबसाइटमा दैनिक ट्राफिक दश गुणा बढेको छ । ‘मैले समुदायबाट यति ठूलो प्रतिक्रिया कहिल्यै देखेको थिइनँ,’ उनले भने ।

टोरोन्टोका पिज्जा व्यवसायी पल्माटियरले अमेरिकी सामान हटाउन कठिन नदेखेको बताए । उनका ग्राहकहरूले पनि यस कदमलाई समर्थन गरेका छन् ।

‘धेरै दिनपछि म देख्दैछु, क्यानडालीहरू कुनै विषयमा एकमत भएका छन्,’ उनले भने ।

क्यानडालीहरूको आत्मसम्मानमा सुधार आएको छ। सर्वेक्षणअनुसार, ‘देश सही दिशामा छ’ भन्ने क्यानडालीहरूको संख्या जनवरीमा १९ प्रतिशत मात्र थियो । तर ट्रम्पको भनाइपछि अहिले ३० प्रतिशत पुगेको छ ।

पहिले ‘फ्रिडम कनभोय’ नामक विरोध प्रदर्शनसँग जोडिएको क्यानडाली झण्डा अहिले राष्ट्रवादी गौरवको प्रतीक बनेको छ । ‘फ्ल्याग्स अनलिमिटेड’ कम्पनीका अनुसार झण्डाको बिक्री गत वर्षको तुलनामा दोब्बर भएको छ ।

ट्रम्पको नीतिले क्यानडाली राजनीति पनि बदलिरहेको छ । आगामी हप्ता लिबरल पार्टीले नयाँ नेता र सम्भावित प्रधानमन्त्री छान्नेछ । चुनावी दौडमा ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गरेका पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रील्यान्ड र पूर्वकेन्द्रीय बैंक गभर्नर मार्क कार्नी छन् ।

अक्टोबरभित्र आम निर्वाचन हुनुपर्नेछ तर छिट्टै हुने सम्भावना छ । कन्जरभेटिभ नेता पोइल्येभ्रेले ट्रम्पबाट दूरी कायम गर्दै ‘क्यानडा फर्स्ट’ सन्देश दिन थालेका छन् ।


लोबोका अनुसार क्यानडालीहरू मात्र होइन अमेरिकी र युरोपेलीहरूले पनि क्यानडालाई समर्थन गर्ने ईमेल पठाइरहेका छन् ।

क्यानडाली अभिनेता माइक मायर्सले ‘साटरडे नाइट लाइभ’ कार्यक्रममा एलन मस्कको भूमिका निर्वाह गर्दै ‘क्यानडा बिक्रीका लागि छैन’ लेखिएको टिसर्ट लगाएका थिए । कार्यक्रमको अन्त्यमा उनले आइस हक्कीको संकेत ‘एल्बोज अप’ गर्दै भने, ‘अब लड्ने बेला भयो ।’

सीएनएनबाट