
काठमाडौं । बाह् बर्षअघि कालिमाटी तरकारी बजारमा भएको भिषण आगलागी घटनाको शोकमा आज उक्त बजारमा तरकारीको कुनै पनि कारोबार भएन् ।
बजार समितिले सूचना नै प्रकाशित गरी आज कुनै पनि प्रकारको कारोबार नभएकाले मूल्य सूची सार्वजनिक नगरेको जनाएको छ ।
आज उक्त बजारका सम्पूर्ण व्यापारी र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले संयुक्त रुपमा उक्त भिषण आगलागी भएको दिनलाई सम्झिदैं कुनै कारोबार गरेको छैन । यस्तै आजको दिनलाई शोक दिवसको रुपमा उनीहरुले मनाइरहेका छन् ।

सन् २०१३ मार्च ४ तारिखका दिन उक्त बजारमा ठूलो भिषण आगलागी भएको थियो । उक्त आगलागीमा परी कालिमाटी तरकारी बजार पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै ६ जनाको जलेर मृत्यु भएको थियो ।
एकै परिबारको ४ जनाको जलेर मृत्यु भएको थियो । उक्त आगलागीमा परी कालिमाटी तरकारी बजारका सुरक्षागार्ड हीराबहादुर पुन, उनकी छोरी १६ वर्षीया शान्ति पुन, १४ वर्षीया नीरा पुन र १२ वर्षीय छोरा निराजन पुनको मृत्यु भएको थियो ।
यसबाहेक थप दुईजनाको जलेर मृत्यु भएको थियो । सुरक्षागार्ड हीराबहादुरकी श्रीमती हिक्का पुनसहित बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ पनि घाइते भएका थिए । आगोमा जलेर मृत्यु भएको व्यक्तिहरुको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । आगोमा परेर एउटा कुकुर समेत मरेको थियो।
बजारमा राति करिब १० बजेर १५ मिनेट जाँदा आगो लागेको थियो। लोडसेडिङ भएको कारण त्यो राति १० बजे मात्रै वत्ति आएको थियो । एक्कासी तार सट भएर आगो लागेको तत्कालिन समयमा अनुमान गरिएको थियो। कालीमाटी तरकारी गोदाममा प्लास्टीकका सामान, बाँसका सामाग्री, जुटका बोरा, तेल, घ्यू जस्ता सामान भएकोले आगो दन्किएको थियो ।

तत्कालिन समयमा एउटै व्यक्तिको लाखौ रुपैयाँबराबरको सामान नष्ट भएको थियो। दाल, सिमी जस्ता सामानको गोदाम भएकोले आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो। तीन सय तरकारी पसल आगोले ध्वस्त भएको थियो । उक्त आगो अर्को दिनमात्रै आठवटा दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।



प्रतिक्रिया