नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो



सेयर बजारमा आज थोरै सुधार आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता पनि कारोबारकोे पहिलो दुई दिन घटेपछि आज भने ५.६२ अंकले बढेको छ । कारोबार रकम भने करिब ११ करोड रुपैयाँले घटेको छ ।

नेप्से परिसूचक बुधबार बजार खुलेदेखि नै थोरै अंकले बढ्न थालेको थियो । कारोबार सुरु हुँदा १ हजार ७ दशमलव शुन्य ४ अंकमा रहेको नेप्से १ हजार १३ दशमलव १५ मा कायम भएको छ ।

नेप्से परिसूचक सँगै ‘क’ बर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले बढेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक पनि बढेका छन् । कारोबार रकममा भने गिरावट छ । हिजो ५४ करोडको कारोबार आज ४३ करोड ३३ लाखमा पुगेको छ । नेप्सेमा १२८ कम्पनीका १४ लाख ९१ हजार ६ सय ५४ कित्ता सेयर किनबेच भएको छ ।

 


क्लिकमान्डु