बिमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको भन्दै प्राधिकरणमा उजुरी बढ्दो, कुन वर्ष कति ?

385
Shares

काठमाडौं । बिमा कम्पनीहरुले समयमा नै दाबी भुक्तानी नगरेको भन्दै बिमा प्राधिकरणमा उजुरी पर्ने क्रम बढेको छ ।

बिमा कम्पनीहरुले बिमा गराउनका लागि ठूलो संख्यामा एजेन्ट बनाएका छन् । उनीहरुले बिमा गर्नका लागि सर्वसाधरण खोज्न र कम्पनीको बिमा पोलिसी बिक्री गर्छन् ।

बिमा गरेपछि दाबी भुक्तानी गर्नु कम्पनीहरुको प्रमुख दायित्व हो । तर, बिमा कम्पनीहरु आफ्नो दायित्वबाट पछि हट्दै गएको पाइएको छ । कम्पनीहरुले उद्देश्य अनुसार दाबी भुक्तानी नगर्दा प्राधिकरणमा उजुरी पर्ने क्रम बढेको हो ।

बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म १४१ वटावटा उजुरी परेका छन् । बिमा प्राधिकरणका अनुसार आव २०७५/०७६ मा १०० वटा उजुरी परेको थियो भने आव ०७६/०७७ मा १२६ वटा, आव ०७७/०७८ मा १३७, आव ०७८/०९७ मा १५५ र आव ७९/०८० मा १५५, आव २०८०/०८१ मा २४४ वटा उजुरी परेका छन् ।

प्राधिकरणका अनुसार गत आवको असार मसान्तसम्म परेका उजुरीमा त्यसको फैसला भएपछि २८७ वटा उजुरी बाँकी थिए । गत आवको २८७ सहित ४३० वटा उजुरी रहेका छन् । उक्त उजुरीमा ५९ वटाको फैसला तथा सहमति भएको छ । पुस मसान्तसम्म ३७१ वटा उजुरी बाँकी रहेका छन् ।

प्राधिकरणमा परेको र फछ्र्यौट नभएका उजुरीहरू आगामी वर्षहरुमा सर्दै जान्छ । विगत साढे ६ वर्षको तथ्यांक हेर्दा उजुरी बढ्नुका साथै फैसला भएर बाँकी हुने क्रम त्यही अनुसार छ । यद्यपी प्राधिकरणले दाबी भुक्तानीका लागि परेका उजुरीमा फैसलालाई पनि प्राथमिकतामा राखेको जनाएक छ।

प्राधिकरणकाअनुसार चालु आवको ६ महिनामा ११० वटा उजुरी दायर भएकोमा ५३ वटा उजुरीमा निर्णय भएको छ । ६ वटामा सहमति भएको छ । ५७ वटामा आदेश भएको छ ।

बीमा दाबी भुक्तानी नपाएर प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा, बिमा गराउँदा अभिकर्ताले बिमितलाई बिमाका बारेमा वास्तविक जानकारी नगराउँदा पनि प्राधिकरणमा उजुरी बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिँदा बीमितहरु आफूले पाउनु पर्ने पैसा दिलाइदिन प्राधिकरणको ढोका ढकढक्याउन बाध्य भएका हुन् ।

अहिले कम्पनीहरुले विभिन्न बाहनामा झुक्याउने, समयमा भुक्तानी दिन नचाहने, पुरानो पोलिसी परिपक्व भएपछि नयाँ पोलिसी किन्न बाध्य बनाउने जस्ता समस्या बढ्दै गएको बिमितहरुको गुनासो छ ।

कम्पनीहरु इमान्दार बन्ने हो भने, बिमितले बिमा गर्दा उल्लेख हुने सबै शर्तहरुका बारेमा जानकारी लिने हो भने यस्ता समस्या कम हुँदै जाने प्राधिकरणका अधिकारी बताउँछन् ।

समयमा दाबी भुक्तानी नगर्ने कम्पनीलाई प्राधिकरणकाले कारबाहीको दायरामा नल्याउँदा पनि यस्तो उजुरी बढ्ने गरेको छ ।

बिमा प्राधिकरण अहिले सबै प्रदेशमा पुगेको छ । प्रदेशमा कार्यालय स्थापना भएपछि बिमाका उजुरी पर्ने क्रम बढेको छ । पहिला उजुरी दिन केन्द्रमा आउनुपर्ने बाध्यता हटेको छ । बिमितले उजुरी दिनु परेमा प्रदेशमा नै उजुरी दिँदा समय, लागत कम हुने भएकाले पनि संख्या बढेको प्राधिकरणका एक अधिकारीले बताए ।