जुम्लामा वर्षा र हिमपात भएपछि किसानलाई राहत

21
Shares

जुम्ला । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा भएका कारण जुम्लाका किसानलाई राहत पुगेको छ ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यो वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए ।

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए ।

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौं, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताए ।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए ।

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ ।

गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।