ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनस्कीबीच ह्वाइट हाउसमा चर्काकर्ची

1.1k
Shares

एजेन्सी । शुक्रबार ह्वाइट हाउसको ओवल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीबीचको भेटवार्ता चर्काकर्कीमा परिणत भयो ।

ट्रम्पले जेलेनस्कीमाथि शान्ति चाहँदैनन् भन्ने आरोप लगाउँदै यदि उनी सम्झौतामा आउन मान्दैनन् भने अमेरिका यो युद्धबाट बाहिरिने बताए ।

ट्रम्पले युक्रेनले रसियासँगको युद्ध जित्न नसक्ने दाबी गरे ।

ट्रम्पले जेलेनस्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाए । यसै क्रममा जेलेनस्कीले भने, ‘हामी ग्यारेन्टीसहित युद्धविराम चाहन्छौं ।’

जब ट्रम्प र जेलेनस्कीबीच बहस भइरहेको थियो त्यति बेला अमेरिकामा युक्रेनी राजदूत ओक्साना मार्कारोवा निकै तनावमा देखिइन् ।

ओवल अफिसबाट बाहिर आएका भिडियोहरूमा युक्रेनी राजदूतले आफ्नो हात निधार र अनुहारमा राखेको देखिन्छ । उनी ओवल अफिसमा दुवै नेताहरूको नजिकै बसेकी थिइन् र उनको चिन्ता विश्वभरका मिडियाका क्यामेराले कैद गर्यो ।

जेलेनस्की दुर्लभ खनिजहरूको सम्झौताका लागि अमेरिका पुगेका थिए, तर यो सम्झौता अहिले अन्योलमा परेको छ ।

यति मात्र होइन, दुवै नेताहरूबीचको चर्को बिबादकाकारण भेटवार्तापछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो । र जेलेनस्कीलाई ह्वाइट हाउसबाट बाहिर गए ।

ट्रम्पको पोस्ट

भेटपछि ट्रम्पले ‘ट्रुथ सोशल’ मा एक पोस्ट सेयर गर्दै जेलेनस्कीमाथि आरोप लगाए। ट्रम्पले लेखे, ‘भेटवार्तामा धेरै कुरा स्पष्ट भए । तर राष्ट्रपति जेलेनस्की शान्तिका लागि तयार छैनन् । किनभने अमेरिका यसमा संलग्न छ । मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु ।’

ट्रम्पले अगाडि भने, ‘उनीहरूले अमेरिकाको अपमान गरेका छन् । यदि उनीहरू शान्ति चाहन्छन् भने फेरि यहाँ आउन सक्छन्।’

जेलेनस्कीको प्रतिक्रिया

यस घटनापछि जेलेनस्कीले ‘एक्स’ मा पोस्ट गर्दै भने, ‘धन्यवाद अमेरिका, तपाईंहरूको समर्थनका लागि धन्यवाद, यो यात्राका लागि धन्यवाद, अमेरिकी राष्ट्रपति, कंग्रेस, र अमेरिकी जनताका लागि धन्यवाद । युक्रेन मात्र शान्ति चाहन्छ, र हामी त्यही लक्ष्यका लागि काम गरिरहेका छौं ।’

यसै क्रममा, जेलेनस्कीले अमेरिकी समाचार च्यानल ‘फक्स न्यूज’ लाई अन्तर्वार्ता दिए । उनले भने, ‘ओवल अफिसमा मिडियाको अगाडि जे भयो, त्यो राम्रो थिएन ।’

तर उनले ट्रम्पसँगको सम्बन्धलाई बचाउन सकिने उनले विश्वास व्यक्त गरे ।

बहस कसरी सुरु भयो ?

यसअघि जेलेनस्कीले ट्रम्पलाई रसियाली राष्ट्रपति पुटिनसँग शान्ति वार्तामा कुनै सम्झौता हुन नहुने बताएका थिए ।

तर बहसको सुरुवात तब भयो जब अमेरिकी उपराष्ट्रपति ‘जेडी बेन्स’ ले युद्धको अन्त्य कूटनीतिक माध्यमबाट हुन सक्ने बताए ।

जेलेनस्कीले बेन्सलाई सोधे, ‘तपाईं कुन किसिमको कूटनीति को बारेमा कुरा गर्दै हुनुहुन्छ ?’

बेन्सले जवाफ दिए, ‘म त्यस्तो कूटनीतिको बारेमा कुरा गरिरहेको छु, जसले तपाईंको देशको विनाश रोक्न सक्छ ।’ त्यसपछि बेन्सले भने, ‘के तपाईंले भेटवार्तामा एकपटक पनि धन्यवाद भन्नुभएको छ ?’

जेलेनस्कीले भने, ‘मैले धेरै पटक धन्यवाद भनेको छु।’

ट्रम्पले गरे युक्रेनको पराजयको दावी

ट्रम्पले जेलेनस्कीसँग भने, ‘युक्रेन अहिले ठूलो समस्यामा छ र तपाईंहरू रसियासँगको युद्ध जित्न सक्नुहुन्न ।’

ट्रम्पले भने, ‘युक्रेन ठूलो संकटमा छ । तपाईंहरूले यो युद्ध जित्न सक्नुहुन्न । तर यदि तपाईंहरू हाम्रो साथमा हुनुहुन्छ भने, तपाईंहरूसँग यसबाट निस्कने अवसर छ ।’

ट्रम्पले भेटवार्तामा युद्धको समयमा युक्रेनलाई दिइएको सहयोगबारे कुरा उठाए।

उनले भने, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं । सैन्य उपकरण दिएका छौं । यदि हामीले सैन्य सहायता दिएका थिएनौं भने यो युद्ध दुई सातामै समाप्त भइसक्थ्यो ।’

युद्धविरामबारे ट्रम्प र जेलेनस्कीको धारणा

ट्रम्पले जेलेनस्कीलाई युद्धविराम हुन्छ भने युक्रेनले तत्कालै स्वीकार गर्नुपर्ने बताए।
ट्रम्पले भने, ‘यदि युद्धविरामको सम्भावना बन्छ भने, युक्रेनले तुरुन्त स्वीकार गर्नुपर्छ ताकि गोली चल्न बन्द होस् ।’

जेलेनस्कीले पनि आफू युद्ध रोक्न चाहिरहेको बताए ।

तर ट्रम्पले बीचमै रोकेर भने, ‘तर तपाईं भन्नुहुन्छ कि तपाईंलाई युद्धविराम चाहिँदैन ।’ जेलेनस्कीले जवाफ दिए, ‘हामीलाई ग्यारेन्टीसहित युद्धविराम चाहिन्छ ।’

जेलेनस्कीले ट्रम्पलाई युद्धविरामबारे युक्रेनी जनतालाई सोध्नुपर्ने बताए । उनीहरू के चाहन्छन् भन्ने जान्नुपर्ने उनको भनाइ थियो।

अमेरिकामा बीबीसीका साझेदार सीबीएसले जानकारी दिएअनुसार युक्रेनी प्रतिनिधिमण्डल ओवल अफिसबाट छुट्टै कोठामा गएका थिए । त्यहाँ राष्ट्रिय सुरक्षा सल्लाहकार ‘माइक वाल्ट्ज’ र विदेशमन्त्री ‘मार्को रुबियो’ ले उनीहरूलाई ह्वाइट हाउस छोड्न भने ।

त्यसपछि, युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट बाहिर निस्कँदै गरेको देखिएको थियो । हालै, रसिया र युक्रेनबीचको युद्ध अन्त्य गर्न अमेरिका र रसियाका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।

तर यो छलफलमा युक्रेनलाई समावेश गरिएको थिएन । त्यसपछि जेलेनस्कीले ट्रम्पमाथि प्रश्न उठाएका थिए र दाबी गरेका थिए कि ट्रम्प गलत सूचनाको प्रभावमा छन्।

तर ट्रम्पले पछिल्ला केही दिनमा जेलेनस्कीलाई बारम्बार निशाना बनाएका थिए, यहाँसम्म कि उनले जेलेनस्कीलाई ‘तानाशाह’ समेत भनेका थिए ।

अब के हुन्छ ?

रसिया र युक्रेनबीच पछिल्ला तीन वर्षदेखि युद्ध जारी छ। शुक्रबारको भेटमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेनस्कीबीच युक्रेनका दुर्लभ खनिजहरूबारे सम्झौता हुने सम्भावना थियो । तर ट्रम्प र जेडी बेन्ससँगको चर्को बहस बहसपछि, अब यो सम्झौतामा जेलेनस्की कहिले हस्ताक्षर गर्छन् भन्ने हेर्न बाँकी छ ।