केबलकार विवाद

ताप्लेजुङमा निषेधज्ञा हट्यो, सदरमुकाम फुङलिङको स्थिति सामान्य बन्दै


ताप्लेजुङ । नो केवलकार समूहको प्रर्दशन उघ्र बन्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ताप्लेजुङ प्रशासनले शनिबार रातीदेखि जारी गरेको निषेधज्ञा मंगलबर रातीबाट हटेपछि सदरमुकाम फुङलिङ र आसपासको जनजीवन बुधबारदेखि सामान्य बनेको छ ।

मुलुककै प्रसिद्ध धार्मिक स्थल मध्यको एक ताप्लेजुङको पाथीभरा क्षेत्रमा निमाणधीन केबलकारको विरोधमा नो केवलकार समूहले गत शनिबर साँझ सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा मसाल जुलुस निकाल्ने नाममा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।

उनिहरुले सर्वसाधारणको घरमा आगोको मसाल प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुने पुगेको थियो । त्यसपछि सुरक्षा व्यवस्था कडा बनाउँदै ताप्लेजुङ जिल्ला प्रशासनले त्यसैरात फुङलिङ सहित काफ्लेपाटी, तल्लोफेदीदेखि बलुडाँडा क्षेत्रसम्मम निषेधज्ञा जारी गरेको थियो ।

गएराती ११ बजेदेखि निषेधज्ञा हटाइएको र अहिले ताप्लेजुङ सदरमुकाम फुङलिङ र आसपासको अवस्था सामान्यतर्फ उन्मुख भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्लिकमान्डुलाई बताए । उनले भने, ‘फुङलिङको स्थिति अहिले सामान्य छ । बजार क्षेत्र सहित शिवरात्री पर्वका अवसरमा यहाँको सिद्धि डाँडा किरातेश्वर नागेश्वर महादेव मन्दिरमा बुधबार विहानैदेखि सर्वसाधारणको चहलपहल बढेको छ,।’

सरकारले केबलकार निर्माणलाई तत्कालका लागि स्थगन गरेर आन्दोलनरत पक्षलाइ वार्तामा बाेलाएकाे छ । केबलकार खारेजी संघर्ष समिति र मुक्कुम्लुङ संघर्ष समितिलाई वार्तामा आउन आब्हान गरेपछि आन्दोलनरत पक्षले आफ्ना विरोधका गतिविधि तत्कालका लागि स्थगन गरेका छन् । तर आन्दोलनरत पक्षले सरकारसँगको वार्तामा बस्ने समिति र व्याक्ति भने तोक्न सकेका छैनन्।

वीरेन्द्र चोकमा भएको झडपमा ११ सुरक्षाकर्मी र १२ प्रर्दशनकारी घाइते भएका थिए । त्यसक्रममा सर्वसाधारणको घरमा आगोको मसाल फाल्ने र प्रहरीमाथि आक्रमण गर्ने १५ जनालाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ति मध्ये एक जना ताप्लेजुङवासी र १४ जना वाहिरि जिल्लावासी रहेको पुष्टि भएको छ ।

माघ १२ गते केवलकारको पहिलो स्टेशन निर्माण स्थल काफ्लेपाटीदेखि करिब एक किलोमिट पूर्वदक्षिण डडेलेदेखि माथिको बलुडाँडासम्म पुरेर गरिएकाे प्रदर्शन र ढुंगामुढापछि झडप भएकाे थियो । उक्त दिनको झडपमा सुरक्षाकर्मीको गोली लागेर दुइजना घाइते भएका थिए । घाइते हुनेमा पाँचथर र तेह्रथुमवासी थिए ।

नो केवलकार समूहले आयोजना गरेको मुक्कुम्लुङ पद यात्रामा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जुङ कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषदका अध्यक्ष तथा पाथीभरा केबलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका राम मादेन, किराँत यक्थुङ चुम्लुङका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम याक्तेन लगायतले गत बिहीवार सहभागि जनाउदैँ आन्दाेलनकारीलाई उक्साएका थिए । उक्त उक्साहटपछि ताप्लेजुङमा शान्तिको वातावरण बिग्रिएको सुरक्षा समितिको भनाइ छ । उनीहरुको उक्साहट लगत्तै आन्दोलनरत पक्ष केबलकार निमार्ण स्थल तल्लोफेदी काफ्लेपाटीदेखि करिब एक किलोमिट पूर्वदक्षिण डडेलेमा पुगेर सुरक्षाकर्मीलाई लक्षित गरेर ढुङगा हान्न थालेपछि गत बिहीवार अपरान्ह दोहोरो झडप भएको थियो ।

त्यसक्रममा ११ जना सुरक्षाकर्मी र एक प्रर्दशनकारी घाइते भए । घाइतेको उद्धार गर्न सदरमुकाम फुङलिङबाट गएको गाडीलाई प्रर्दशनकारीले बाटैमा तोडफोड गरेर त्यसका चालक राजकुमार पौडेललाई कुटपिट गरेका थिए ।

नो केवलकार समूहको आन्दोलनमा प्रदेश १ पुन: नामाकरण अभियानका संयोजक डकेन्द्रसिंह थेगिम, मुक्कुम्लुङ सयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, फेम्बु, किराँत याक्थुङ चुम्लुङ संघीय समितिका प्रेम यक्तेनसहितकाे सभागिता थियो ।

उक्त आन्दोलनमा नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष गोल्जे शेर्पा, राष्ट्रिय आदीवासी जनजाती महासंघका डिमी शेर्पा, याक्थुङ युवा मञ्चका राजेन्द्र इघिङगो, याक्थुङ चोम्जुङ सङजुम्भोका किरणकुमार सिंगु, याक्थुङ मन्चइत चोकसयङका सागर केरुङ र लिम्बु विद्यार्थी मञ्चका प्रदिप नेयोङ र लिम्बु थरगत सस्था याक्युङ सयङ सहजीकण समुहका संयोजक नन्द कन्दङवा लगायतको सहभागीता थियो ।

ति मध्ये श्रीप्रसाद लिम्बु र खगेन्द्र फेम्बु ताप्लेजुङवासी हुन भने अरु टुरिष्ट भएको ताप्लेजुङ सुरक्षा स्रोतको दाबी छ । नो केबलकार समूह चार दिन सम्म तल्लोफेदी काफ्लेपाटीमा प्रदर्शन गरेर शनिबार सुदरमुकाम फुङलिङ केन्द्रित प्रर्दशनका क्रममा मसाल जुलुस निकालेका थिए ।

उनिहरुले सर्वसाधारणको घरमा मसाल फ्याँकेपपछि सुरक्षाकर्मीसँग झडप हुँदा ताप्लेजुङ तनावग्रस्त बनेको थियो । त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले फुङलिङ बजार सहित काफ्लेपाटी तल्लोफेदी र बलुडाँडमा निषेधज्ञा जारी गरेको थियो ।