
एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का करिब २ हजार कर्मचारी रोजगारीबाट हटाइने भएका छन् । बाँकी पूर्णकालीन कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने भएको छ । यसबारे कर्मचारीलाई इमेलमार्फत् जानकारी दिइएको सीएनएनले जनाएको छ ।
‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू, केही अति महत्वपूर्ण कार्य, प्रमुख नेतृत्व वा विशेष रूपमा तोकिएका कार्यक्रमहरूमा संलग्न कर्मचारीहरू बाहेक विश्वभर प्रशासकीय बिदामा रहनेछन्,’ इमेलमा लेखिएको छ । यो प्रशासकीय बिदा आइतबार रातिदेखि लागू हुनेछ ।
‘यूएसएआईडी अब अमेरिकाभित्र कार्यरत करिब २ हजार कर्मचारीलाई प्रभावित गर्ने ‘रिडक्सन-इन-फोर्स’ (कर्मचारी कटौती) प्रक्रिया सुरु गर्दैछ,’ इमेलमा भनिएको छ ।
प्रभावित हुनेहरूलाई आइतबार नै विशेष सूचना दिइनेछ र आवश्यक भनिएका कर्मचारीहरूलाई साँझ ५ बजेभित्र जानकारी गराइनेछ।
यूएसएआईडी का कर्मचारीहरूलाई प्रतिनिधित्व गर्ने युनियनहरूमध्ये एक अमेरिकी विदेश सेवा संघ (एएफएसए) का अध्यक्ष टम याज्दगर्डीले आइतबारको घोषणापछि भने, ‘हामी प्रशासनको हतारको निर्णयबाट गहिरो निराश छौं, जसले हाम्रो समर्पित सार्वजनिक सेवकहरूलाई अनिश्चिततामा राखेको छ ।’
‘हाम्रो सदस्यहरूले बारम्बार बताएका छन् कि यी लापरबाहीपूर्ण निर्णयहरू र तिनीहरूप्रति देखाइएका अमानवीय व्यवहारहरूले उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा अपूरणीय असर पारेको छ,’ उनले थपे ।
यूएसएआईडी विश्वभर मानवीय सहायता उपलब्ध गराउने सरकारी निकाय हो । तर ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि यसको अस्तित्व संकटमा परेको छ ।
सीएनएनका अनुसार शुक्रबार एक संघीय न्यायाधीशले हजारौं यूएसएआईडी कर्मचारीहरूलाई बिदामा राख्न प्रतिबन्ध लगाउने अस्थायी आदेश खारेज गरेपछि ट्रम्प प्रशासनले यस एजेन्सीबाट कर्मचारी हटाउने प्रक्रिया थालेको हो ।
यस प्रक्रियाले यूएसएआईडीको मानवीय सहायता ब्युरोका कर्मचारीहरूलाई विशेष रूपमा असर पारेको छ । जसमा विश्वभर आपत्कालीन संकटमा छिटो प्रतिक्रिया दिने जिम्मेवारी भएका कर्मचारीहरू पनि छन् ।
प्रतिक्रिया