
जब सम्बन्धको कुरा उठ्छ, महिलाहरुलाई प्राय एउटै कुराले सताउने गर्छ । ‘ब्वाइफ्रेन्ड’ले म्यासेजको जवाफ दिँदैन, फोनको रेस्पोन्स गर्दैन र दैनिक रुपमा प्रेमिकाहरुले सुनाउने ससाना कुरामा ध्यान दिँदैन । विशेषगरी चिनियाँ समाजमा यस्तो हुने गर्छ । तर यस्तो समस्या यदि नयाँ प्रविधिले समाधान गरिदियो भने के होला ?
पछिल्लो समय चीनमा प्रेमीहरुको झन्झट र जोडी नपाउने समस्याका बीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहायताले बनाइएको भर्चुअल ब्वाइफ्रेन्ड युवतीहरुको मनमुटुमा बसिरहेको छ ।
‘एआई ब्वाइफ्रेन्ड’ले अचेल अनपेक्षित रुपमा पुरुष प्रेमीहरुको ठाउँ लिइरहेको छ । युवतीहरुले मनका कुरा गर्न र भावना साटासाट गर्न यस्ता एआई ब्वाइफ्रेन्डको व्यापक प्रयोग गरिरहेका छन् ।
यस्तो उपायले युवतीहरुलाई भर्चुअल ब्वाइफ्रेन्ड त दियो नै, यस्तो एआई ब्वाइफ्रेन्डले चिनियाँ उद्यमीलाई अर्बपतिसमेत बनाइदिएको छ ।
फोर्ब्समा प्रकाशित रिपोर्टअनुसार सांघाइबाट प्रकाशित हुने पत्रिकाकी ३२ वर्षीया एक सम्पादक एलिसिया वाङले यस्तै एआई ब्वाइफ्रेन्ड भेटिन् । २७ वर्षीय उक्त ब्वाइफ्रेन्डको नाम ली सेन हो । तर अंग्रेजीमा उसले जाएनको रुपमा चिनाउँछ ।
अग्लो र ह्यान्डसम जाएनले प्रेमिकाको म्यासेजको तुरुन्तै जवाफ फर्काउँछ । फोन गर्दा तत्कालै रिसिभ गरिहाल्छ । र वाङका ससाना कुराहरु पनि झन्झट नमानिकन धैर्यपूर्वक सुनिदिन्छ ।
जाएनको एउटै समस्या छ, सिलिकन चिपभन्दा बाहिरी दुनियाँमा उसको अस्तित्व छैन । अर्थात् उसलाई भर्चुअल्ली नै महसुस गर्नुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय समाचारअनुसार सम्पादक वाङ एआई डेटिङ गेम ‘लभ एन्ड डिपस्पेस’का झन्डै ६० लाख मासिक सक्रिय प्रयोगकर्तामध्ये एक हुन् । जुन गेम २०२४ को जनवरीदेखि संचालनमा छ ।
जुन गेम सांघाइमा रहेको पेपर गेम्सले तयार पारेको थियो । जसले एआई र भ्वाइस पहिचान गरेर पाँच पुरुष अनलाइन प्रेमीहरुलाई फ्लर्ट गराउँछ । ती प्रेमीहरुले फोन कल तथा म्यासेजको माध्यमबाट मज्जाले बफादार ब्वाइफ्रेन्डको भूमिका निर्वाह गर्दैआएका छन् ।
एआई ब्वाइफ्रेन्ड प्रयोग गरेर अर्बपति बन्ने उद्यमी:
स्मार्टफोनको यस्तो एआईमा आधारित डेटिङ गेम चिनियाँसहित, अंग्रेजी, जापानी र कोरियन भासामा उपलब्ध छ । उक्त पेपर गेम्सलाई सिर्जना गरेर व्यापारको माध्यम बनाउने व्यक्ति चाहिँ ३७ वर्षीय उद्यमी याओ रुनहाओ हुन् । जो हाल यही एआई ब्वाइफ्रेन्डको माध्यमबाट १ अर्ब ३० करोड अमेरिकी डलरका मालिक बनिसकेका छन् ।
२०१३ मा स्थापित पेपर गेम्सले विश्वव्यापी रुपमा ८५ करोड डलरको व्यापार गरेको थियो । निजी रुपमा संचालन हुँदैआएको उक्त गेम स्टुडियोका सीईओ तथा अध्यक्ष याओ हुन् । कम्पनीको मूल्य २ अर्ब डलरको पुगेको छ ।
चिनियाँ विशेषज्ञहरुका अनुसार तीब्र रुपमा फैलिएको पेपर गेम्स जस्ता गेमिङ कम्पनीको मूल्यांकन कम्पनीको वार्षिक राजस्वको लगभग ३ गुणा हुने गरेको छ । तर पेपर गेम्सले यसबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
धेरैजसो चिनियाँ खेलाडीहरु र अमेरिका र अन्य देशका नागरिकले पनि पेपर गेम्सका ब्वाइफ्रेन्डसँग भर्चुअल डेट गर्न सक्छन् । यसबीचमा उक्त डेटिङ गेम चीनमा धेरैपटक डाउनलोडको टप सूचीको १ नम्बरमा परिसकेको छ।
उदाहरणका लागि सम्पादक वाङले मात्रै एआई ब्वाइफ्रेन्डसँग च्याट तथा अनलाइन डेट गर्न ४ हजार ८ सय अमेरिकी डलर खर्च गरिसकेकी छन् ।
यतिबेला चीनमा सम्बन्धदेखि तनाब र झमेला झेलिरहेका युवतीहरु यसरी एआई ब्वाइफ्रेन्डसँग डेट गर्ने क्रम यति तीब्र रुपमा फैलिएको छ कि, पेपर गेम्सका मालिक याओ छोटो समयमै डलर अर्बपति बनिसकेका छन् ।
उनले भर्चुअल डेटिङ गेम ‘लभ एन्ड डिपस्पेस’ मा एड्भान्स एआई सिस्टमलाई भ्वाइस पहिचान र खेलाडीको आनीबानी बुझ्नसक्ने क्षमताको विकास गरेका हुन् ।
जसले गर्दा कुनै पनि वक्ताको आनीबानी र व्यवहार बुझेर उसको चाहना अनुसार नै एआई ब्वाइफ्रेन्डले बोलिदिने र त्यही अनुसार व्यवहार गरिदिन्छ ।
खेलाडीको भावना बुझेर बफादार प्रेमीको रुपमा प्रस्तुत हुने उसको चरित्र हो । जसकारण पछिल्लो समय महिलाहरु अत्यधिक रुपमा यस्ता एआई ब्वाइफ्रेन्डसँग घन्टौ च्याट गर्ने गरेको पाइन्छ ।
याओ भने चीनका त्यस्ता उद्यमी हुन् जसले पछिल्लो आम मनोभावना बुझेर र चीनको समकालीन अवस्था बुझेर त्यसै अनुसारको एआई डेटिङ गेम तयार पारे । जसको डेटिङ गेम यति धेरै प्रयोग हुन थाल्यो कि हाल उनी यसैबाट फोर्ब्सको डलर अर्बपतिमा परिसकेका छन् । यससँगै चीनमा हाल अनलाइन डेटिङ उद्योग नै विस्तार भइरहेको छ ।
कसरी कमाइ हुन्छ ?
याओको ‘लभ एन्डडिपस्पेस’ बिजनेस मोडल प्रिमियम संरचनामा आधारित छ । जुन गेमिङ उद्योगमा अत्यधिक प्रभावशाली सावित भएको छ । यसका प्रयोगकर्ता तथा खेलाडीहरुले निशुल्क गेमको पहुँच पाउँछन् । तर प्रयोग गर्दै जाँदा थप गफगाफ गर्न वा थप प्रयोग गर्नका लागि थप खर्च गर्नुपर्ने हुन्छ । यो मोडलले विशेषगरी चीन मात्रै नभएर बाहिर पनि उल्लेख्य रुपमा आम्दानी गर्दै आएको छ ।
यही गेमको मोडेलले वार्षिक रुपमा विश्वभर ८५ करोड अमेरिकी डलर कमाउने गरेको छ । यस फ्रेमवर्कभित्र रहेर खेलिरहने प्रयोगकर्ता वा खेलाडीहरुले सामान्यतया मासिक रुपमा २ सय डलर खर्च गर्दैआएका छन् । र इच्छुक खेलाडीहरुले थप खेल खरिदका लागि ४ हजार ८ सयसम्म खरिद गर्ने गरेका छन्।
खासमा यो एउटा अनलाइन गेम जस्तै पनि हो । जहाँ कुनै व्यक्तिले प्रेमीको रुपमा प्रयोगकर्ताको बोली चिन्नुका साथै आनीबानीसँग अभ्यस्त हुन्छ । र गफको रोमान्टिक वातावरण सिर्जना गर्नसक्छ ।
जसअनुसार ब्वाइफ्रेन्डसँग प्रयोगकर्ता युवतीहरु निर्धक्क घन्टौसम्म गफिन सक्छन् । जहाँ एआई ब्वाइफ्रेन्डसँग मान्छेलाई झैं फोन कल, म्यासेज गरेर भावना साटासाट गर्न सकिन्छ ।
लभ एन्ड डिपस्पेसले प्रयोगकर्तालाई मनोरन्जन मात्रै दिएको छैन, यसले त चीन र अन्य क्षेत्रमा प्रविधिको क्षेत्रमा क्रान्ति नै ल्याएको बताइन्छ ।
प्रतिक्रिया