अमेरिका पुगे भारतीय प्रधानमन्त्री मोदी, ट्रम्पसँग भेटवार्ता हुँदै

567
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी भ्रमणमा गएका छन् । बिहीबार बिहान अमेरिकी राजधानी वासिङ्टन डीसी पुगेका मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केही समय अघि वासिङ्टन डीसी आइपुगेँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न उत्साहित छु ।’

मोदीले थप लेखेका छन्, ‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी बनाउन उत्सुक छु । हाम्रा दुबै देशले आफ्ना जनता र देशको उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न जारी राख्नेछौँ ।’

राष्ट्रपति ट्रम्पसँगको भेटअघि उनले अमेरिकी गुप्तचर विभाग (नेशनल इन्टेलिजेन्स) की प्रमुख तुलसी गबार्डसँग भेट गरेका छन् । बुधबार अमेरिकी सिनेटले तुलसी गबार्डलाई अमेरिका राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा पुष्टि गरेको थियो ।

ट्रम्प र मोदीबीचको वार्तामा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि तथा आप्रवासन सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै, दुई नेताबीच भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी विषयमा पनि कुराकानी हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि पहिलो केही हप्तामै विभिन्न विश्व नेताहरूसँग भेट गरेका छन् । यस क्रममा प्रधानमन्त्री मोदी ट्रम्पको आतिथ्यता पाउने चौथो विश्व नेता भएका छन् । यसअघि, उनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू, जापानी प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग ह्वाइट हाउसमा भेट गरिसकेका छन् ।

Skip This