एकाएक किन आयो बबरमहलमा बाढी ?


काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक भासिएको छ । बुधबार दिउँसो पाइप फुट्दा निस्किएको पानीका कारण सडक भासिएको हो । पानीका कारण बाढीकै अवस्था बनेपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

पाइप फुटेर निस्किएको पानीका कारण जिल्ला अदालत काठमाडौं अगाडिको सडक तथा वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू जलमग्न भएका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा मेलम्चीको पाइप क्षतिग्रस्त भएको दाबी गरे । प्रभावित क्षेत्रमा पानी आपूर्ति रोक्ने तयारी गरिएक उनको भनाइ छ ।

पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ । अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

बबरमहलमा पानी निस्किएपछि उक्त भेल पस्ने डरले प्रसूति गृहमा सुरक्षा टोली परिचालन गरिएको छ ।