अर्ना बियर उत्पादन गर्ने यति ब्रुअरीको अवस्था: घट्दो नाफा, बढ्दो ऋणको भार


काठमाडौं। अर्ना लगायतका आधादर्जन ब्राण्डका बियर उत्पादन गर्ने यति ब्रुअरीको अवस्था कमजोर बन्दै गएको छ । सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफामा उच्च दरले घट्दा ऋण दायित्वको दबाब बढ्दै गएको हो ।

सन् २०२२ को तुलनमा २०२३ मा उच्च दरले व्यापार घटेको थियो । व्यापारमात्रै होइन, व्यापारबाट हुने नाफाको मार्जिन पनि ह्वात्तै घट्दा कम्पनीलाई ऋणको भारले थिचेको हो ।

 २०२३ को तुलनामा २०२४ मा कम्पनीको बिक्री केही बढेपनि प्रोफिट मार्जिन भने खुम्चिएर ६.८४ प्रतिशतमा झरेको छ । जबकी, यस्तो प्रोफिट मार्जिन २०२२ मा १२.९३ प्रतिशत थियो । यसको अर्थ के हो भने २०२२ मा कम्पनीले कुल व्यापारको १२.९३ प्रतिशत, २०२३ मा ७.८८ प्रतिशत र २०२४ मा ६.८४ प्रतिशत नाफा भएको हो ।

कच्चा पदार्थमा लागत बढ्दा कम्पनीको सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफा लगातार घटेको हो ।

कम्पनीले दीर्घकालका लागि १ अर्ब ३८ करोड र अल्पकालका लागि १ अर्ब ४५ करोड ऋणको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीको ऋण भुक्तानी गर्ने क्षमता मध्यमस्तरको मात्रै छ ।

कम्पनीले करिब २ अर्ब ८४ करोड रुपैयाँको रेटिङ गराए पनि गत आर्थिक वर्षसम्म जम्मा १ अर्ब ३ करोड रुपैयाँ मात्रै कर्जा लिएको छ ।

विशाल ग्रुप र एभरेष्ट ग्रुपको मुख्य लगानी रहेको कम्पनीमा विशाल अग्रवाल अध्यक्ष र  सञ्जव सरार्फ प्रबन्ध सञ्चालक छन् । कम्पनीको व्यवस्थापकमा मनिस श्रीवास्तव छन् । 

कम्पनीका अनुसार सन् २०२२ मा कम्पनीको बिक्री आम्दानी सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । सो वर्ष ३ अर्ब ४७ करोड, २०२३ मा २ अर्ब ५७ करोड र २०२४ मा केही सुधार भएर २ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कच्चा पदार्थको बढ्दा लागत, आर्थिक गतिविधिमा भएको सुस्तता, विश्व आर्थिक श्रृंखलामा देखिएका अवरोध, भुराजनीतिक अनिश्चतताजस्ता कारणले कम्पनीको सञ्चालन आम्दानी बढाउने थप चुनौति देखिएको रेटिङ एजेन्सीको निष्कर्ष छ ।

कम्पनीको सञ्चालन नाफामात्रै नभएर खुद नाफामा समेत लगातार गिरावट देखिएको छ  । २०२३ मा ६.३६ प्रतिशत रहेकोमा  २०२३ मा २.३२ प्रतिशत र २०२४ मा१.९ प्रतिशतमा झरेको छ । दीर्घकानलिन ऋण बढ्दा दायित्वसँगै ब्याज खर्च बढ्दा कम्पनीको खुद नाफा थप घटेको देखिनछ । कम्पनीले नाफामा सुधार गर्दा आगामी दिनमा ऋणको दात्यिवको दबाबमा पर्ने अवस्था रहेको छ ।

कम्पनीले आगामी दिनमा सञ्चालन क्षमता विस्तार गर्ने, प्रोफिट मार्जिनलाई दीगो बनाउने  र चालुपूँजी व्यवस्थापनलाई सुधार गरी ऋण व्यवस्थापनसमेत प्रभावकारी बनाउनुपर्ने देखिएको छ । 

२०२३ को तुलनामा कम्पनीको कच्चा पदार्थको लागत २०२४ मा कमी आए पनि केही सीमित आपूर्तिकर्तासँग कच्चा पदार्थमा अधिक निर्भरता देखिएको छ । २०२३ मा शीर्ष १० आपूर्तिकर्तासँगको निर्भरता ६५ प्रतिशत रहेकोमा २०२४ मा ६७ हुँदै २०२४/२४ मा अझै बढेर ७० प्रतिशत पुगेको र यो अवस्था जोखिमपुर्ण रहेको कम्पनीले जनाएको छ । 

कम्पनीलाई चालुपूँजी व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चैनौति रहेको छ । कच्चा पदार्थ खरिदमा अग्रिम भुक्तानी, उधारो बिक्रीको बढ्दो साइकल कम्पनीका लागि चालुपूँजी व्यवस्थापनमा थप चुनौति बढेको हो । ग्राहकलाई दिएको उधारोको भुक्तानी २०२२ मा औसत ५८ दिन रहेकोमा २०२३ मा ८३ दिन पुगेको छ  । आर्थिक मन्दीका कारण बजारमा माग घट्दा नगद प्रभावको व्यवस्थापनमा चुनौति बढेको हो ।

२०२२ मा १६० दिन रहेको अपरेटिङ साइकल बढेर २०२३ मा १९२ दिन पुगेको छ।

अर्ना, यतिसहित विभिन्न ६ ब्राण्डका वियर उत्पादन गर्ने कम्पनीको मूख्य बजार नेपाल नै भए पनि  भारत, जापान र अष्ट्रेलियालगायतका मुलुमा निर्यात पनि हुने गरेको छ ।

कम्पनीमा विशाल ग्रुपका साथै सञ्जिव सरार्फको ३३.३३ प्रतिशत र जयजिव सरार्फको ११.६६ प्रतिशत सेयर लगानी छ । कम्पनी पब्लिक लिमिटेडमा रुपान्तर भइसकेको छ । कम्पनीले वार्षिक ४ करोड ३० लाख लिटर बियर उत्पादन गर्ने क्षमता राख्छ ।