ओपनएआई किन्न मस्कले ९७ अर्ब डलरको प्रस्ताव राखे, जवाफ आयो-९ अर्बमा बरु ट्वीटर बेच्नुस् !

1.2k
Shares

एजेन्सी । विश्वका सबैभन्दा धनीसमेत रहेका टेस्लाका प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईको नियन्त्रण गर्ने गैरनाफामूलक संस्थालाई ९७.४ अर्ब डलरमा किन्ने प्रस्ताव राखेको छ ।

मस्क र ओपनएआईका प्रमुख सम एल्टम्यानबीच केही समयअघि देखि तनाब चल्दै आएको छ ।

ओपनएआईले च्याटजीपीटीबाट चर्चा पाइरहँदा मस्कले २०२३ मा प्रतिस्पर्धी एआई स्टार्टअप एक्सएआई स्थापना गरेका थिए । उनले यसअघि ओपनएआईलाई नाफामूलक बन्न नदिन मुद्दा पनि दायर गरिसकेका छन् ।

मस्कले २०१५ मा एल्टम्यानसँग मिलेर ओपनएआईको स्थापना गरेका थिए। तर, कम्पनी सफल हुनुअघि नै उनी अलग भए । हाल ओपनएआईले नाफामूलक संस्थामा रूपान्तरण गर्न खोज्दै छ, जसलाई मस्कले ‘जनहित भन्दा नाफालाई प्राथमिकता’ दिने आरोप लगाएका छन्।

एल्टम्यानले मस्कको प्रस्तावलाई अस्वीकार मात्रै गरेनन् एक्स (ट्विटर)लाई ९.७४ अर्ब डलरमा किन्ने जवाफी ट्वीट गरे । ओपनएआईको बोर्डले पनि यस प्रस्तावमा रुचि नराख्ने संकेत दिएको छ । ‘हाम्रो कुनै चासो छैन, तर यदि तपाईं चाहनुहुन्छ भने हामी ट्विटरलाई ९.७४ अर्ब डलरमा किन्न तयार छौं,’ उनले भनेका छन् ।

मस्कले यो डिलका लागि टेस्ला वा स्पेसएक्समा आफ्नो शेयर बिक्री गर्न वा ऋण लिन बाध्य हुन सक्छन् । उनले २०२२ मा ट्विटर (हाल एक्स) किन्दा ४४ अर्ब डलर खर्च गरिसकेका छन्।

विश्लेषकहरूका अनुसार, यो प्रस्तावले सफ्टब्यांकले ओपनएआईमा ४० अर्ब डलर लगानी गर्ने योजनामा असर पार्न सक्छ । ओपनएआईको हालको मूल्यांकन १५७ अर्ब डलर रहेको छ ।

येल ल स्कूलका प्रोफेसर जोनाथन मेसीले ‘गैरनाफामूलक संस्थाको कर्तव्य भनेको लाभार्थीहरूको हित रक्षा गर्नु हो। यदि ओपनएआईले कम मूल्यमा बिक्री गर्ने निर्णय गर्यो भने यो चिन्ताको विषय हो’ भने ।

मस्कको समूहमा एक्सएआई, बेरन क्यापिटल, इम्यानुएल क्यापिटल लगायत अन्य सहभागी छन् । यो डिल पूरा भएमा एक्सएआई र ओपनएआईको विलय सम्भावना रहेको सीएनएनको समाचारमा उल्लेख गरिएको छ ।