महिला खेलकुद कुनै पनि लगानीकर्ताका लागि उदाउँदो बजार । यसमा लगानी बढाउँदा यसले अनपेक्षित रुपमा आम्दानी र राजस्व बढाउने सम्भावना छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/player-invest-768x403.png)
काठमाडौं । विश्वभर नै महिला खेलकुदको आकर्षण अत्यधिक भए पनि पुरुष खेलकुदको तुलनामा सधैँ नै ओझेलमा पर्ने गरेको छ ।
विशेषगरी महिला खेलकुदका आयोजकहरुले यसलाई खासै महत्व दिएको पाइँदैन । जवकि पुरुषहरु झैँ महिलाहरु पनि खेलकुदमा आफ्नो भविष्य बनाउन संघर्षरत छन् । खेललाई करिअरकै रुपमा अगाडि बढाउने महिलाहरुको संख्या ठूलो मात्रामा छ ।
विडम्वना त के भने अधिकांश देशमा र सिंगो विश्वमा नै महिला खेलाडीहरुले पाउने अवार्ड तथा पुरस्कार पुरुषको तुलनामा न्युन हुने गरेको छ ।
यद्यपि यसभन्दा अघिल्लो विश्वकपमा भने महिलाहरुले पनि पुरुषकै बराबर पारिश्रमिक र अवार्ड पाउनुपर्ने भन्दै युरोपका देशहरुमा आन्दोलन नै गरे ।
यसैबीच पछिल्लो समय महिला खेलकुदमा लगानी बढाउनुपर्ने र यसबाट अनपेक्षित रुपमा आम्दानी गर्न सकिने भन्दै आवाज उठ्न थालेको छ । यसै पनि पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । यसैले पनि महिला खेलकुदको क्षेत्रलाई व्यवस्थित गरेर लगानी बढाउने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिने तर्कहरु सुनिन थालेका छन् ।
त्यसो त यसै वर्ष पेरिस ओलम्पिकले एउटा इतिहास नै बनायो ।
लैंगिक समानतासहतिको खेलको रुपमा पेरिस ओलम्पिकले हालसम्मकै धेरै दर्शकलाई स्वागत गरेको थियो । जहाँ अमेरिकी महिला बास्केटबलका लागि हालसम्मकै सबैभन्दा दर्शक आएका थिए । र महिला खेलबाट १ अर्ब अमेरिकी डलर राजस्व संकलन भएको थियो ।
यसरी बितेको वर्ष महिला खेलका लागि निकै उत्साहजनक थियो र जुन अवस्था भविष्यमा झनै बढ्दो मात्रामा रहेको बताइन्छ । यसबीचमा भएका महिला खेलकुदका गतिविधिले पनि यो अवस्था झनै माथि उकासिने देखिन्छ ।
यसले आम दर्शकमा उत्साह मात्रै नभएर महिला खेलकुदका लागि नयाँ लगानीको क्षेत्रलाई पनि बढाउन सकिने अपेक्ष गर्न थालिएको छ । अब २०२५मा नै महिला खेलको क्षेत्रलाई व्यवसायीहरुका लागि नयाँ लगानीको अवसरको रुपमा व्याख्या गर्न थालिएको छ ।
यसले खेलाडी र दर्शकलाई मात्रै नभएर लगानीकर्तालाई पनि नयाँ अवसर दिएको बताइन्छ । विज्ञहरुका अनुसार अब महिला खेलकुदमा लगानी गर्ने समय यही हो ।
महिला खेलमा लगानी बढाउनुका प्रमुख तीन कारणः
कारण एक
महिला खेलमा लगानी बढाउने विषय महिला खेलाडी र आम महिलाहरुका लागि त खुसीकै कुरा भयो । यससँगै व्यवसायका लागि पनि नयाँ अवसरको रुपमा हेर्न सकिन्छ ।
खासगरी पहिलेको अवस्था हेर्ने हो भने पुरुषको तुलनामा महिला दर्शकहरु पनि थेरै नै थिए । समग्र खेलकुदका दर्शकहरुमध्ये महिलाहरु थोरै नै हुने अवस्था थियो । जसले गर्दा पनि महिला खेलका लागि लगानी पनि ज्यादै न्युन थियो ।
जुन अवस्था अब धेरै परिवर्तन भइसकेको छ । पछिल्लो ३ वर्षको अवधिमा यो अवस्था सुधार भएर महिला खेलबाट हुने राजस्वमा विश्वव्यापी रुपमा ३०० प्रतिशतले वृद्धि भएको छ । हालै डेलोइट कमिसनले गरेको सर्वेक्षण अनुसार ९९ प्रतिशत ब्रान्ड निर्णयकर्ताहरुले पछिल्लो ५ वर्षमा महिला खेलका लागि लगानी बढाएका छन् ।
यससँगै आम महिलाहरु पनि खेलकुदमा कुनै न कुनै रुपमा जोडिन थालेको सर्वेक्षणले देखाएको छ । र यस्तो उत्साहजनक अवस्था पहिले कहिल्यै थिएन ।
यसबाट पनि महिला खेल नयाँ बजारको रुपमा विकसित भइरहेको देखिन्छ । साथै महिला खेलमा पुरुष दर्शकहरुको पनि उल्लेख्य वृद्धि भएको बताइन्छ । समग्रमा महिला खेलको ‘भ्युअरसिप’ अनपेक्षित रुपमा वृद्धि भइरहेको बताइएको छ ।
उक्त सर्वेक्षणबाट नयाँ तथ्य के पनि सार्वजनिक भएको छ भने– महिला खेलाडीहरु पुरुषको तुलनामा खेलका लागि आवश्यक सामग्री धेरै खरिद गर्छन् र उनीहरु सोसल मिडियामा खेलप्रति आफ्नो उत्साह धेरै नै सेयर गर्छन् ।
कारण दुई
लगानी बढाउनुको अर्को कारण के पनि हो भने लगानीले महिला खेलको दायरा धेरै फराकिलो बनाउनेछ । साथै महिलाहरुलाई खेलमै टिकिराख्ने वातावरण बनाउने छ ।
लगानी र नाफाबाट माथि उठेर हेर्ने हो भने पनि महिला खेलमा लगानी बढाउँदा समग्र महिलाहरुलाई आत्मबल प्रदान गर्छ । महिला सशक्तिकरणमा पनि यसले निकै महत्वपूर्ण काम गरेको हुन्छ ।
नयाँ पुस्ताका महिलाहरुलाई पनि यसले खेलप्रति अपनत्व जगाउनुका साथै आत्मविश्वासी बनाउने काम गर्छ ।
सर्वेक्षणले के देखाएको छ भने पुरुषले कमाएको प्रत्येक डलरबाट ८२ सेन्ट जति महिलाले कमाउने गर्छन् । खेलकुदमा के छ भने पुरुष र महिलाको पारिश्रमिकको भिन्नता निकै फराकिलो छ ।
यस्तो अवस्थामा कम्पनीहरुले कसरी काम गर्न सक्छन् त ? महिला खेलमा लगानी बढाएर कम्पनीहरुले महिला खेललाई मात्रै सहयोग गरेका हुँदैनन् बरु उनीहरुले पुरुष र महिला खेलाडीको पारिश्रमिक समान बनाउन पनि मद्दत गर्न सक्छन् । समग्रमा उनीहरुले यो असमानताको समस्याको समाधान नै दिन सक्छन् ।
डेलोइट सर्वेक्षणका अनुसार खेलमा सहभागी भएका ८५ प्रतिशत महिलाहरुले खेलमैदानमा आफूले विकसित गरेको सीप नै आफ्नो करिअरमा सफलताको कारक भएको प्रतिक्रिया दिएका थिए ।
कारण तीन
लगानीमा देखिने अवरोध नै प्राय नयाँ अवसर पनि हो । यद्यपि पुरुष खेल र स्पोन्सरसिपको गुणस्तर र संख्याको तथ्यांक जुन स्तरमा छ त्यही स्तरमा महिलाको भने उपलब्ध नरहेको बताइन्छ ।
यसैले पनि जब महिला खेललाई बजारको नयाँ अवसर बनाउने विषय जब उठ्छ भने कुनै पनि व्यवसायी र लगानीकर्ताका लागि त्यो नयाँ अवसर नै मानिन्छ । अवसरलाई उपभोग गर्दै यसको तथ्यांक व्यवस्थित गर्नु र यसमा काम गर्नु कुनै पनि सिर्जनात्मक उद्यमीका लागि अवसर नै हो ।
यसमा उद्यमीले के पनि बुझ्नुपर्छ भने जव तपाईँको लक्षित समूह ‘फ्यान’मा आधारित दर्शकहरुसँग जोडिन्छ भने त्यो क्षेत्र तपाईँका लागि उपभोक्ता वा बजार पनि हो ।
यदि महिला खेलाडी र दर्शकहरुको संख्या तीब्र रुपमा बढिरहेको छ भने त्यो कुनै पनि बुद्धिमानी उद्यमीका लागि लगानीको लागि उत्साहजनक वातावरण हुनेछ । यद्यपि महिला खेलकुदको अवस्था प्रारम्भिक चरणमै रहेको छ । तर यो तीब्र रुपमा बढिरहेको पनि छ ।
विशेषगरी महिला खेलको क्षेत्र ब्रान्ड र बजारका लागि उदाउँदो अवसरका रुपमा देखिरहेको बताइन्छ । यसरी महिला खेलमा लगानी बढाउनाले अन्तत खेल क्षेत्रलाई समावेशी र सबैको साझा क्षेत्रको रुपमा पनि विकास गर्नेछ । र नेपालमा पनि एक असल लगानीकर्ताले यो अवसरको लाभ लिनसक्नेछ ।
नेपालमा महिला खेलकुद
पछिल्लो समय नेपाली खुलकुदमा पनि महिला खेलाडी प्रदर्शन प्रशंसा योग्य बन्दै गएको छ । महिला वाफ च्यम्पियनसिपमा नेपाली महिला खेलाडीले दर्शकलाई रंगशालासम्म पुर्याए ।
पुरुष फुटबलमा समर्थकले विश्वास गुमाइरहँदा महिला खेलाडीको खेल हेर्न बिहानै देखि दर्शक रंगशालाको गेटमा लाइन लागेका थिए ।
सावित्रा भण्डारी युरोपको प्रतिष्ठित क्लबबाट व्यवसायी फुटबल खेल्छिन् । फ्रान्सको शीर्ष डिभिजनको क्लबले सावित्रालाई अनुबन्ध गर्दा नेपाली फुटबल खेलाडीको अहिलेसम्मकै ठूलो सफलता हो । सावित्राले अघिल्लो वर्ष भारतको आई लिग खेलेकी थिइन् । मलेसियामा आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५मा समेत नेपाली महिला खेलाडी प्रतिस्पर्धाको अवसर पाए भने सन् २०२७ मा हुने य १९ महिला विश्वकप नेपाल र बंगलादेशमा संयुक्त रुपमा आयोजना हुने छ ।
नेपाली महिला भलिबल टोलीले पनि राम्रो प्रदर्श गर्दै आएको छ । तर, महिला खेलकुदमा हुने कम लगानीका कारण खेलाडीहरुले राम्रो आम्दानीका लागि विदेशीनु पर्ने अवस्था भने बनेको छ । तर, पछिल्लो समय महिला खेलाडी र खेलकुदमा लगानी बढ्दो अवस्थामा रहेको छ।
प्रतिक्रिया