दानापानी दिने, गोबर सफा गर्ने र दुध दुहुने सबै काम मेसिनबाटै

दुबईको पाँच तारे हिल्टनका जीएम गजेन्द्रले ५० करोड लगानीमा खोलेको गाई फर्मको कथा

दैनिक १४०० लिटर दुध उत्पादन, वार्षिक ७ करोडको कारोबार


विराटनगर । विराटनगर-१२ को दरैयामा ठूलो लगानीमा चार वर्षदेखि आधुनिक गाईफर्म सञ्चालनमा छ । यो फर्ममा दैनिक १४०० लिटर दुध उत्पादन भएर विराटनगर बजारमा खपत हुँदै आएको छ ।

बंजरा एग्रो फर्मका नाममा सञ्चालित फर्ममा गाईलाई दाना-पानी दिने, गोबर पखाल्ने, दुध दुहुने सबै काम मेशिनबाट हुन्छ । यो फर्ममा कृषिमा आधारित गाईको खान्की तयार गर्ने साइलेज र दाना फ्याक्ट्री पनि सञ्चालन गरिएको छ ।

करिब पाँच विघा जमिनमा चार वर्षदेखि सञ्चालित गाईफर्ममा यसबेला प्रतिगोटा अढाई लाखसम्म मूल्य पर्ने १९८ वटा होलस्टेन (एचएफ) उन्नत जातका माहुँ गाई छन् । भारतबाट गाई ल्याउन र जमिन खरिद गरेर पूर्वाधार तयार गर्दा फर्ममा सुरुवाती ४० करोड रुपैयाँ लगानी भएको र यसबेला करिब ५० करोड लगानी पुगेको बताइएको छ ।

फर्ममा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले १० करोड कर्जा लगानी गरेको छ । फर्मका म्यानेजर सञ्जय चापागाईंका अनुसार त्यसमध्य ५ करोड ५ प्रतिशत ब्याजदरको सहुलियत ऋण र ५ करोड ७ प्रतिशत ब्याजको ऋण छ ।

फर्ममा सुरुमा १४५ वटा माहुँ गाई थिए । तिनै माहुँ गाईबाट बाच्छी उत्पादन गरेर यसबेला १९८ वटा गाई पुगेका हुन् । फर्मबाट यसबेला दैनिक १४०० लिटर दुध बजार पुग्ने गरेको चापागाईंको भनाइ छ।

गाईको स्वास्थ्य रेखदेखका लागि भारतको पन्जाबबाट चिकित्सक ल्याइएको छ । फर्ममा अहिले १५ जनाले रोजगारी पाएका छन् । गाईको स्वास्थ्य परीक्षणका लागि फर्ममै ल्याबको व्यवस्था पनि गरिएको छ ।

यो फर्म स्वीटजरल्याण्डमा होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका ५४ वर्षीय गजेन्द्र शर्मा बञ्जराले खोलेका हुन् । विगत २५ वर्षदेखि विश्वविख्यात होटल कम्पनी हिल्टनमा काम गरेर कमाएको पैसा यो फर्ममा लगानी गरेको उनले बताए । उक्त होटलमा काम गर्ने क्रममा उनी भियना, अष्ट्रिया, दोहा, कतार, अबुधाबी, चीन, क्यानडा, थाइल्याण्ड र दुबईमा रहेका उक्त होटलमा काम गरे ।

होटल सम्बन्धी अनुभवी शर्माले आफ्नो गाउँमा केही गरौं भन्दै यो गाईफर्म खोलेको बताए । होटलमा लगानी गर्दा प्रतिफल पाउन समय लाग्ने र कृषिमा लगानी गर्दा छिटो प्रतिफल पाइने तथा आसपासका किसानलाई पनि फाइदा हुने देखिएकाले यो विधामा लगानी गरेको उनको भनाइ छ ।

जग्गा किन्नदेखि भारतबाट उन्नत जातका गाई ल्याउन र आवश्यक पूर्वाधार निर्माणका क्रममा सुरुवाती करिब ४० करोड लगानी भएको शर्माको भनाइ छ । उनका अनुसार त्यसमध्ये १० करोड वित्तीय संस्थाको लगानी हो।

करिब ४० करोडको लगानीमा पहिलो चरणको काम सकिएको र थप ८८ वटा गाई थप्न सेड निर्माण गर्दा थप ४ करोड लगानी लागेको तथा वित्तीय संस्थाहरूले परियोजना आधारमा लगानी गर्न नमान्दा समस्या भएको उनको गुनासो छ।

हाल यो फर्ममा १९८ वटा गाई छन् । फर्ममा दिनमा तीनपटक गाई दुहिन्छ । एक दिनमा तीनपटक दुहुँदा जुनेली नामको गाईले ५६ लिटरसम्म दुध दिएको छ । फर्मका म्यानेजर चापागाईंका अनुसार यो फर्ममा एक दिनमा ३५ लिटरदेखि ५६ लिटरसम्म दुध दिने होलस्टेन जातका गाई छन् ।

यो फर्मबाट उत्पादन भएको दुध फर्मका कर्मचारीले बजार पुर्‍याउँछन् । फर्मको दुध मिठाई पसल, विद्यालय र ४७५ जना नियमित ग्राहकलाई उपलब्ध गराइन्छ । उनीहरू सबैलाई फर्मकै कर्मचारीले होम डेलिभरी गर्ने गरेका छन् । चापागाईंका अनुसार नजिकका ग्राहकलाई प्रतिलिटर ८५ रुपैयाँ र टाढाका ग्राहकलाई प्रति लिटर ९० रुपैयाँमा दुध बिक्री गर्ने गरिएको छ।

यो फर्मले वार्षिक करिब ७ करोडको दुध, गाईको गोबर र बाछी बिक्री गर्दै आएको चापागाईंले क्लिकमान्डुलाई जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय फर्मले भारतबाट माहुँ गाई ल्याउन छाडेर फर्ममै बाछी उत्पादन गर्दै आएको छ । उनका अनुसार फर्ममा जन्मिएको बाछी २४ महिनापछि दुई लाख रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।

यो बंजरा गाईफर्म कोशी प्रदेशका तत्कालीन कृषिमन्त्री भक्ति सिटौलाले उद्घाटन गरेका थिए । त्यसक्रममा सिटौलाले यो फर्मलाई प्रदेश सरकारले मिल्क मेशिन र प्याकेजिङ पक्षमा अनुदान दिएको बताएका थिए।

फर्मले गाईको खानाका लागि मोरङमा १५ विघा र सुनसरीमा ३५ विघा जमिन लिजमा लिएर मकै खेती गर्दै आएको छ ।त्यसबाहेक फर्मले गाईका लागि घाँस तथा दाना उत्पादन गर्न सुनसरी देवानगन्ज ७ का किसानलाई अग्रिम ४० प्रतिशत भुक्तानी गरेर मकै खेती गर्न प्रोत्साहन गरेका छन् ।

त्यहाँ २० जना किसानले ३० विघा जमिनमा फर्मका लागि मकै खेती गरेका छन् । मकैले सुत्ला च्याप्न सुरु गरेपछि फर्मले मकैको बोट प्रति किलो ५ रुपैयाँका दरले खेतमै गएर किनेर ल्याउँछ ।

मकै खेती किसान राजेन्द्रप्रसाद साहका अनुसार मकैको दाना बिक्री गर्दा भन्दा बोट नै फर्मलाई बिक्री गर्दा थोरै समयमा राम्रो आम्दानी हुने गरेको छ । फर्मका लागि ७ विघा खेतमा मकै खेती गरेका उनले भने, ‘पहिले एक विघा खेतबाट एक पटकमा ८० हजारसम्मको मकै बिक्री हुन्थ्यो, अहिले डेढ लाखसम्म आम्दानी भइरहेको छ।’ फर्मका लागि वर्षमा दुई पटक एउटै खेतमा मकै खेती गर्न सकिने उनको भनाइ छ।

मकै नै उत्पादन गर्दा कम्तीमा १२० दिन समय लाग्थ्यो । फर्मका लागि मकै खेती गर्दा बढीमा ८० दिनमा जमिनले आम्दानी दिन थालेको छ । अर्का किसान सुकदेव साहका अनुसार पहिले मकै खेती गर्दा घोगा बाहेक सबै नष्ट हुन्थ्यो । फर्मका लागि मकै खेती गर्दा कुनै चीज पनि खेर जाँदैन र थोरै समयमा राम्रो आम्दानी हुने गरेको छ । फर्मले खेतबाट बोटसहितको हरियो मकै ल्याएर गाईका लागि साइलेज बनाउने गरेको छ । उद्योगी शर्माका अनुसार फर्मले ८ सय टन साइलेज उत्पादन गरेर आउँदो वैशाखसम्मका लागि मौज्दात राखेको छ।

को हुन् गजेन्द्र शर्मा बंजरा ?

शर्मा निम्न परिवारमा ५४ वर्ष अगाडि दरैयामै जन्मिएका हुन् । उनका बुबा गोविन्द शर्मा बञ्जरा मोरङ सुगर मिलका कार्यालय सहयोगी थिए । उनकी आमा रुक्मणी ठेक्कापट्टामा खेती गर्थिन् । मिल्स माध्यमिक विद्यालयबाट २०४२ सालमा एसएलसी गरेका गजेन्द्रले त्यसपछि महेन्द्र मोरङ कलेजमा आइकम गरे । आइकममा उनले ९७ प्रतिशत अंक ल्याएका थिए ।

त्यसबेला मोरङबाट काठमाडौं जानका लागि मोरङ पशुपति एक्सप्रेस नाइट बस चल्थ्यो । उक्त बस पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका पिए अमोद कटुवालका छोराको थियो । उनै अमोदको सहयोगमा उनी आइकम पास गरेपछि बुबासँग १ सय ५५ रुपैयाँ मागेर काठमाडौं हिँडे ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट उनले व्यवस्थापनमा स्नातक गरे। शंकरदेवमा पढ्दा पढ्दै काठमाडौंमा जुद्धबहादुर श्रेष्ठलाई काममा लगाइदिन उनले अनुरोध गरेका थिए । उनै जुद्धबहादुरले आफ्नो छोरा विनोदको कार्पेट फ्याक्ट्रीमा प्रति महिना ९ सय रुपैयाँ तलबमा २०४८ सालमा काममा लगाइदिए ।

त्यही उद्योगमा काम गर्दै पढ्दै गजेन्द्रले अरु विद्यार्थीलाई ट्यूसन पढाएर कमाइ गर्न थाले । त्यहाँ काम गर्दागर्दै उनी त्यो उद्योगको मेनेजर भए । उद्योगबाट उत्पादित सामान विदेश निर्यात हुन्थ्यो । त्यही बेला उनले स्वीटजरल्याण्डका व्यापारीसँग काम गर्ने अवसर पाए ।

उनलाई त्यहीवेला स्वीटजरल्याण्डका व्यापारीले होटल म्यानेजमेन्ट पढ्न जान सुझाव दिए । सोही सुझावका आधार उनीहरुको सहयोगमा शर्मा होटल म्यानेजमेन्ट पढ्न स्वीटजरल्याण्ड पुगे । त्यँहा उनले होटल म्यानेजमेन्टमा स्नातकोत्तर हासिल गरे । डिग्री हासिल गरेसँगै उनले विश्वविख्यात होटल कम्पनी हिल्टनमा कामको अवसर पाए । त्यही कम्पनीमा २५ वर्षदेखि उनले काम गरिरहेका छन् । उनी सोही होलट कम्पनीले संचालन गरेको दुवईको फाइभ स्टार होटलमा उनी अहिले महाप्रबन्धक छन् ।

उनका दुई जना छोरा अष्ट्रेलियन नागरिक बनिसकेका छन् । छोराले उनलाई उतै बोलाईरहेका छन् । तर उनी गएका छैनन् । उनलाई २००७ सालमा क्यानडाबाट पीआर आएको थियो । तर उनले अस्वीकार गरेर होटलमै काम गरेर यहाँको गाई फर्म सञ्चालन गरिरहेका छन् । उनी तीनवटा हिल्टन होटल सम्हाल्ने महाप्रबन्धक हुन् ।