सरकारले खुलायो ९० हजार मेट्रिक टन गहुँ आयात गर्न पाउने प्रस्ताव

77
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट गहुँ आयात गर्न इच्छुक व्यवसायीको हकमा प्रस्ताव आह्वान गरेको छ ।

विभागले जारी गरेको सूचनाअनुसार भारतले नेपालको लागि ९० हजार मेट्रिक टन गहुँ आयातको कोटा तोकेको छ । सोहि कोटाको गहुँ आयात गर्नका लागि प्रस्ताव आह्वान गरेको हो ।

यसअनुसार आयात गर्न चाहने इच्छुक नेपाली फर्म वा कम्पनीले कम्तिमा १ सय मेट्रिक टन र बढीमा १० हजार मेट्रिक टन गहुँ खरिद गरी आयात गर्न पाउनेछन् । सूचनाअनुसार यो गहुँ आयात गर्नको लागि इच्छुक फर्म वा कम्पनीको चुक्तापुँजी एक करोड रुपैयाँ हुनुपर्ने शर्त तोकिएको छ ।

यसका साथै गहुँ आयात गर्नका लागि भारतको नेशनल केअपरेटिभ एक्सपोर्ट लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएको हुनाले वित्तीय श्रोतको सुनिश्चितता हुनुपर्ने पनि शर्त तोकिएको छ । फर्म वा कम्पनीले आयात गर्न माग गरेको आधारमा प्राप्त कोटा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अघिल्लो वर्षमा आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने सक्षमताका आधारमा प्राथमिकता दिएर बाँडफाँड गर्न सकिने पनि शर्त अघि सारिएको छ ।

विभागले यस्तो कोटा प्राप्त गरिरहेका फर्म वा कम्पनीले आगामी ३ महिनामा उक्त गहुँ आयात गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यदि कोटा पाएर पनि आयात गर्न नसक्ने अवस्था भएको खण्डमा अनुमति प्राप्त गरेको मितिले १५ दिन अगावै विभागलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

आयातित गहुँको मौज्दात, मूल्य, गुणस्तर र बिक्रीको विवरण साप्ताहिक रुपमा विभागमा उपलब्ध गराउन पनि विभागले शर्त तोकेको छ ।