क्रेडिट युनियनहरु गैर नाफामूखी वित्तीय सेवा प्रदायक जन नियन्त्रित औपचारिक वित्तीय संस्था हुन् । फाइनान्सियल को–अपरेटिभ सम्बन्धि साझा अवधारणा र विश्व ऋण परिषदको परिभाषा नै यही हो ।
क्रेडिट युनियनमार्फत् मुलरुपमा नाफा भन्दा सदस्यहरुको हित संरक्षित हुन्छ । उनीहरुले सहकारीका सिद्धान्त, मुल्य, मान्यता र अभ्यासमा रही पहिचान सहितको सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दछन् । अमेरिकी चिन्तक बर्नि स्यान्डर्सका अनुसार परस्पर लाभका लागि कसरी व्यक्तिहरु सँगै काम गर्न सक्छन् भन्ने चम्किलो उदाहरण क्रेडिट युनियन हुन् ।
क्रेडिट युनियनहरु सिद्धान्ततः सहकारी नै हुन् । विश्वभर क्रेडिट युनियन वा फाइनान्सिल को–अपरेटिभका रुपमा चिनिएका संस्थाहरु नेपालमा बचत तथा ऋण सहकारीका नामले चिनिन्छन् ।
क्रेडिट युनियनहरुको उद्देस्य नाफा बढाउनु भन्दा सदस्यहरुको हित संरक्षण गर्नु महत्वपुर्ण हो । सोही बमोजिम विश्व ऋण परिषद्ले सिफारिस गरेको मापदण्ड पल्र्स र नेपालको प्रचलित सहकारी ऐनमा पनि सिमित मुनाफाको अवधारणा स्वीकार गरिएको छ । क्रेडिट युनियनहरु दशकौं लामो इतिहास भएका प्रतिष्पर्धा भन्दा सहकार्यमा सदस्यका लागि सुलभ वित्तीय सेवा प्रवाह सकिन्छ भन्ने उदाहरण हुन्।
वित्तीय सेवा मानव समुदायका लागि अपरिहार्य छ र सहकारितामा आधारित वित्तीय सेवा युगौं युग चलिरहने छ । सहकारी ढाँचामा वित्तीय सेवा प्रवाह गर्ने सहकारीहरु नै क्रेडिट युनियन हुन् ।
सन् १८५० को दशकमा युरोपवाट सुरु भएको बचत तथा ऋण सहकारी अभियान विश्वको कुना कुनामा पुगेको छ । सहकारी सिद्धान्तमा आधारित भइ सदस्यहरुको माझ वित्तीय सेवा प्रवाहको माध्यम क्रेडिट युनियन आजको एक्काईसौं शताब्दीको औपचारिक वित्तीय संस्था हो । नेपालमा पनि वि.सं. २०१३ साल देखि विभिन्न नीतिगत व्यवस्था भित्र सहकारी अविच्छिन्न चलि रहेकै छन् ।
सहकारी क्षेत्रमा प्रचलित शब्दावली सहकारी सञ्जालको आफ्नै विशेषता र सैद्धान्तिक आधार छन् । सहकारी एक्लै वा अलग्गै केही होइन । सहकारी त विश्व सहकारी सञ्जालको महत्त्वपुर्ण अवयव मात्र हो । जसलाई राज्यका कानूनहरुवाट व्यवस्थित गरिएको हुनु पर्दछ ।
मानव समुदायको फेरिएको वित्तीय आवश्यकता र पहिचानयुक्त सेवाका लागि सहकारी र सहकारीबीच सहकार्य भएको हुन्छ । यसलाई नेपालको सहकारी ऐनले पनि सहकारी सिद्धान्तलाई कानुनी रुप कै मान्यता दिएको छ ।
क्रेडिट युनियनको सेवा प्रवाहमा विशेष खालका समस्या वा चुनौति पनि छन् । क्रेडिट युनियनको आकार, सेवा प्रवाहमा संलग्नहरुको पेशागत दक्षता, वित्त क्षेत्रका प्रविधिको अवलम्बन, कानूनी वातावरणको अनुकुलन, जोखिम सुपरिवेक्षण एवं व्यवस्थापन, बजारीकरण र नवप्रबर्तन आजका यस क्षेत्रका चुनौतिका रुपमा देखा परेकोमा राज्यको कानून बमोजिम क्रेडिट युनियनहरुको सञ्जालमा साझा सेवाहरुको विकास गरी समाधान भएको पाइन्छ ।
अझ भनौं विश्व बचत तथा ऋण सहकारी अभियान यस क्षेत्रमा आएका चुनौतिहरुको समाधान गर्न सक्षम छ र यसका विधिहरुको विकास गरी अभ्यास पनि भइरहेको छ । यस मध्येको एउटा विधि केन्द्रीय तरलता सुविधा हो । क्रेडिट युनियनहरुको केन्द्रीय तरलता सुविधा केन्द्रीय विषयतगत संघमा रहने व्यवस्था सबै भन्दा बढी चलेको अभ्यास हो ।
अमेरिकाको राष्ट्रिय क्रेडिट युनियन प्रशासनका अनुसार आर्थिक संकटका बेलामा केन्द्रीय तरलता सुविधाले विश्वसनीय वित्तीय स्रोतको रुपमा पहुँच दिलाउँछ । यसले सदस्यमा सेवा उपलब्ध गराउने क्षमता संरक्षण गर्दछ । त्यसैले बचत ऋण सहकारी अभियानमा बलियो केन्द्रीय वित्तीय सुविधाले सहकारी अभियानमा स्याथित्वको मेरुदण्डको रुपमा काम गर्दछ । यसले क्रेडिट युनियनको वित्तीय लचकता र वृद्धिको अवसर प्रदान गर्दछ ।
केन्दीय तरलता सुविधा क्रेडिट युनियनहरुका लागि पहिचान र सुरक्षा दुवै हो । बचत तथा ऋण सहकारीहरु कठिन समयमा पनि निरन्तरताको माध्यम पनि हो । त्यसैले बचत तथा ऋण सहकारीहरुको अभ्यास र सिद्धान्तले क्रेडिट युनियनहरु केन्द्रीय तरलता सुविधाजस्ता केन्द्रीकृत उपायमा निर्भर हुनुपर्दछ । यस्ता सुविधा वा उपायले सहकार्य र पारस्पारिक लाभको सिद्धान्तमा रहन प्रणालीगत उतारचढावबाट संरक्षण गर्दछ भनि स्वीकार गरिएको छ ।
देसजार्डिन्स समूह उत्तर अमेरिकी महादेशको ठुला मध्येको एक फाइनान्सियल को–अपरेटिभ सञ्जाल रुपमा स्थापित भएको छ । देसजार्डिन्स समूहमा आन्तरिक रुपमा नै केन्द्रीय वित्त सुविधाको प्रबन्ध संरचना व्यवस्थापन गरिएको छ । जसले सञ्जालमा आबद्धहरुको तरलता व्यवस्थापन, वित्तीय आवश्यकता परिपुर्ति तथा रणनीतिक परामर्शदाताको कार्य गर्दछ ।
देसजार्डिन्स समूहले आफ्नो सञ्जालमा समान्य र असामान्य दुवै अवस्थामा तरलता व्यवस्थापन,भुक्तानी प्रक्रिया सञ्चालन, भुक्तानी फस्र्यौट तथा सुपरिवेक्षकीय भुमिका निर्वाह गर्दछ ।
त्यसै तरलता व्यवस्थापन र सञ्जालको स्थायीत्वका लागि यस समूह भित्र क्यापिटल मार्केट पनि व्यवस्थित छ । सञ्जाल भित्र सम्पत्ति दायित्व व्यवस्थापन गरी सञ्जालमा सन्तुलन कायम राख्न, अधिक तरलताको समयमा लगानी व्यवस्थापन र संकटका समयमा थोक कर्जाको व्यवस्थापन पनि गर्दछ । यसले गर्दा सञ्जाल सन्तुलित बनेर सदस्यहरुको बचत सुरक्षा गर्न सक्षम हुने गरेको छ ।
देसजार्डिन्स समूहले वास्तवमा नै सञ्जालका लागि परम्परागत केन्द्रीय बैंकको भुमिका निर्वाह नीतिगत रुपमा नै गर्दछ । यसले सञ्जालमा तरलताको अवस्था हेरेर तरलता केन्द्रमा तान्ने वा सञ्जालमा छोड्ने जस्ता कार्यहरु पनि गर्दछ । यस सञ्जाल भित्र संकटका समयमा तरलता प्रदान गर्न र मौद्रिक नीति कार्यान्वयनको जिम्मेवारी पनि वहन गर्दछ ।
देसजार्डिन्स समूहसँग अरु थुप्रै केन्द्रीय साझा सेवाहरु रहेको छ । यसले तरलता व्यवस्थापनमा अल्पकालीन आवश्यकता परिपूर्ति मात्र गर्दैन सञ्जालको नगद प्रवाहको सन्तुलन कायम गर्न कार्यहरु गर्दछ ।
सञ्जालमा प्रविधि नवप्रबर्तन, सहकारिता तालिम शिक्षा, जोखिममा आधारित सुपरिवेक्षण र व्यवस्थापन मार्फत सञ्जाल सुरक्षाको नीतिगत व्यवस्था गरिएको छ । यसवाट सञ्जालमा स्थायित्व कायम भएको छ । सेवाको लागत घटेको छ । जोखिम र तरलता व्यवस्थापनमा सहकारीताको सिद्धान्त कार्यान्वयन पनि भएको छ । सञ्जालका सबैलाई सुरक्षित महसुस भएको छ । संकटको समयमा पनि स्रोतको पर्याप्ततामा सहयोग पुगेको छ र संकट सामना गर्ने क्षमता वृद्धि भइ सञ्जाल सुरक्षित बनेको छ । देसजार्डिन्स समूह सञ्जालिकृत पनि भएकोले क्रेडिट युनियनको पनि क्रेडिट युनियनको रुपमा काम गरेको छ ।
देसजार्डिन्स समूहको सञ्जाल विकासको लामो इतिहास रहेको छ । यसको सुरुवात सन् १९०० वाट नै भएको पाइन्छ । सुरुमा सबै स्वयत्त थिए । केन्द्रीय सुविधाहरु थिएन र यो समूहमा केन्द्रीय सुविधाहरुको विकास आर्थिक संकटको अबधि सन्१९२० देखि ४० को बीचमा भएको पाइन्छ ।
सन् १९३२ वाट केन्द्रीय तरलता सेवा सुचारु भए पनि सन् १९४४ बाट मात्र संरचना सहितको सेवा सुरु भएको पाइन्छ भने दोस्रो विश्वयुद्ध पछिको आर्थिक विकासमा यस सञ्जालको भुमिका बढेको देखिन्छ । यस समयमा सञ्जालले केन्द्रीय वित्त सेवा सञ्जाल भित्र नै विकास गर्न र सन् १९८० मा तरलता तान्न सक्ने कानूनी अधिकार कार्यान्वयनमा आएको थियो ।
आज सञ्जालमा एकिकृत वित्तीय सेवा सुचारु गर्न, प्रविधिको स्तरीकरण गर्न सक्षम भएको छ । क्रेडिट युनियन अभियान भित्र यस्ता सेवाहरु विश्वका अरु देशहरुमा पनि विद्यमान छन् । यसबाट नै बचत तथा ऋण सहकारीहरु सन्तुलित विकास एवं सरकार र सहकारी सहयात्रा पनि सम्भव भएको छ ।
कोरियाको नाकूफोक, आयरल्याण्डको आईरिस लिग अफ क्रेडिट युनियन, ब्राजिल, जर्मनीलगायत देशमा केन्द्रीय वित्त सुविधा छ । अवधारणागत रुपमा केन्द्रीय वित्तीय सुविधा क्रेडिट युनियनको पनि क्रेडिट युनियन हो । यसले वृहत् क्रेडिट युनियन सञ्जालमा वित्तीय तथा तरलताको सेवा दिन्छ । यस्तो सुविधा राष्ट्रिय तथा क्षेत्रीय क्रेडिट युनियन संघले प्रदान गर्दछन् ।
नेपालको सन्दर्भमा पनि बचत तथा ऋण सहकारीहरुको विकासको गतिसँगै विकास हुने चरणमा रहेको छ । क्रेडिट युनियनहरुको केन्द्रीय विषयत संघको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले वि.सं. २०५५ बाट यो सेवा सुरु गरेको हो । सहकारी ऐन २०७४ अगावै यसले आकार लिँदै गरेको थियो ।
सहकारी ऐन २०७४ को दफा २ (फ) ले सहकारी संस्थाको परिभाषा गरेको छ । सहकारी संस्था पदावलीले संस्था र संघ दुवैलाई जनाउने उल्लेख भएको छ ।
त्यसैले सहकारी ऐनले संस्था र संघलाई अलग अलग अलग रुपमा नलिएर एकीकृत रुपमा स्वीकार गरिएको छ । सहकारी ऐन २०७४ को दफा २(ज) मुख्य कारोबारको परिभाषामा पनि संस्था र संघ दुवै समावेश गरी सञ्जाल वा संघले मुख्य कारोवार बचत तथा ऋणको गर्न सक्ने नीतिगत व्यवस्था गरेको छ । सहकारी ऐन २०७४ को २ (त) मा सदस्य भन्नाले सहकारी संस्थाको सदस्यता प्राप्त गरेको व्याक्तिलाई जनाउने उल्लेख गरी संघको हकमा पनि सदस्यको परिभाषा भएको पाइन्छ ।
सहकारी ऐन २०७४ को परिच्छेद ३ दफा २४ र २५ मा संघ र संस्थाको उद्देश्य र कार्यहरु एउटै उल्लेख गरी विषयगत संघलाई व्यावसायीक संगठनको रुपमा स्वीकार गरेको छ । संस्था वा संघको उद्देश्य कार्यक्षेत्रमा आधारित र सदस्य केन्द्रित भई आफ्ना सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्नु संस्था वा संघको मुख्य उद्देश्य हुनेछ भने संघ तथा संस्थाका कार्यहरु अन्तरगत सहकारीका मूल्य र मान्यता र सिद्धान्तको पालना गर्ने गराउने, सदस्य र आफ्नो व्यवसायको हित प्रवद्र्धन तथा सोको बजारीकरण गर्नेगराउने, सदस्यहरुलाई शिक्षा, सूचना र तालिम प्रदान गर्ने तथा सदस्य संस्था वा संघमा सुशासन प्रवद्र्धन गर्ने गराउने, संस्था वा संघ बीचको पारस्परिक सहयोग अभिवृद्धि गर्ने गराउने, संस्था वा संघले गर्ने उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरी गुणस्तर सुधार, आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनका सम्बन्धी कार्य गर्ने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने, संस्था वा संघको व्यावसायिक प्रवद्र्धन तथा विकास सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्ने, मन्त्रालय, रजिष्ट्रार, प्रदेश, स्थानीय तह वा कार्यलयको निर्देशन पालना गर्ने र विनियममा उल्लिखित कार्यहरु गर्ने कुराहरु उल्लेख गरिएको छ ।
सहकारी ऐन २०७४ को दफा ५० ले सहकारी संस्थाले सदस्यहरुबीच बचत परिचालन र ऋण लगानी गर्ने सक्ने व्यवस्था गरिएको छ । त्यस्तै जोखिम व्यवस्थापनका लागि केन्द्रीय विषयगत संघमा नै रहने गरी स्थिरीकरण कोषको व्यवस्था गरिएको छ । जसमा केन्द्रीय विषयगत संघले पनि योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै दफा १४० मा सहकारी संस्थाहरुले एक आपसमा अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।
त्यसैले सहकारी ऐन २०७४ ले विषयगत संघहरुलाई प्रारम्भिक स्तरको केन्द्रीय वित्त सुविधाहरु उपलब्ध गराउने नीतिगत व्यवस्था गरिएको मान्न सकिन्छ । सहकारी ऐन २०७४ को दोस्रो संशोधन २०८० ले दफा १५१ संशोधन गरी १(क) थप मार्फत बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमन,निरिक्षण तथा सुपरिवेक्षण सम्बन्धमा नेपाल राष्ट्र बैंकले मापदण्ड बनाई जारी गर्ने व्यवस्था गरिएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंकले मस्यौदा मापदण्ड बनाई सुझाब मागको अवस्था छ । त्यस्तै दफा १५१ (२) को व्यवस्थाले संघहरुको अलग्गै मापदण्ड बनाउन सक्ने व्यवस्था गरिएको छ । हाल जारी गरिएको मस्यौदा मापदण्ड नाम अनुसार सहकारी संस्था (संघ र संस्था दुवै) का लागि भनिए पनि मुख्य खण्डमा संस्थाहरुका लागि मात्र उल्लेख गरेको पाइएको छ । मापदण्डको परिच्छेद ४ घ मा उल्लेख भएको विषय सहकारीको विश्व भरिको केन्द्रीय तरलता सुविधा सम्बन्धि अभ्यास भन्दा फरक र नेपालको सहकारी ऐनको भावना विपरित रहेको छ । बचत तथा ऋण सहकारी अभियानको तरलता व्यवस्थापनको जिम्मा सहकारी ऐनले विषयगत संघलाई तोकेकोमा मापदण्डले रोक्दा कानूनी राज्यको उपहास भएको छ ।
नेपालको बचत तथा ऋण सहकारी अभियान कानूनी राज्यको पक्षमा छ । सार्वभौम संसदले बनाएको कानून अक्षरस पालन हुनु पर्दछ । बचत तथा ऋण सहकारीहरुको सन्दर्भमा केन्द्रीय तरलता सुविधा संघको दायित्व हो । त्यसको व्यवस्थापनका लागि आवश्यक मापदण्ड र निर्देशनहरु समय अनुसार प्राप्त हुने र यो दायित्व पुरा गर्न अभियान एक ढिक्का भएर उभिने विश्वास छ । अभियानको विकास र संरक्षणमा सबै जिम्मेवार हुन आवश्यक छ । नेपाल सरकारले हाल गरेका प्रयासहरुमा अभियान संगै सहकार्य गर्न तयार पनि रहेको छ ।
(ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष हुन् ।)
प्रतिक्रिया