काठमाडौं । काठमाडौं महानगरपालिका बजेट खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । खर्च खातामा ४ हजार मात्र बाँकी भएपछि बालेन्द्र साह मेयर रहेको देशकै बलियो स्थानीय तह चेक काट्न नसक्ने स्थितिमा पुगेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा रहेका कारण महानगरको आर्थिक गतिविधि ठप्प छ । महानगरका मेयर शाहले गुरागाईंले प्रक्रिया नै नपुर्याइ काठमाडौं टावरको नक्सा पास गरेको भन्दै गुरागाईंमाथि छानबिन समिति बनाएका थिए । छानबिन समिति बनेपछि गुरागाईं बिदामा छन् ।
सोहीबीच पुस २४ गते महानगरका मेयर बालेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै अर्को प्रमुख प्रशाकीय अधिकृत खटाइ दिन अनुरोध गरेका थिए । त्यसयता महानगरले विभिन्न विभागीय प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ ।
महानगर प्रमुख प्रशासकीय अधिकृत नै नभएका कारण आर्थिक गतिविधि ठप्प भएको हो ।
बालेनले गुरागाईंमाथि छानबिन थालेको ४५ दिन भइसकेको छ ।
कानुनी व्यवस्थाअनुसार संघीय सञ्चित कोषको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुन्छ । कोही निमित्त प्रमुख प्रशासकीय प्रमुख बने ऊसँग अन्य अधिकार हुन्छ तर सञ्चित कोष सञ्चालन गर्न भने पाउँदैन ।
यसकारण महानगरको आम्दानी सञ्चित कोषमा जम्मा हुन्छ । तर, खर्च भने सञ्चित कोषबाट हुँदैन । खर्च गर्नका लागि सञ्चित कोषको रकम खर्च कोषमा ट्रान्स्फर गर्नु पर्ने हुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत नै नभए पनि सञ्चित कोषमा १४ अर्ब रुपैयाँ भए तापनि खर्च कोषमा ट्रास्न्फर गर्न सकिएको छैन ।
महानगर स्रोतका अनुसार चालु खर्च खातामा ४ हजार रुपैयाँ मात्र छ । यसैगरी पुँजीगत खर्च खातामा १५ करोड रुपैयाँ छ । तर, चालु प्रकृतिको खर्चमा पुँजीगत खर्च खाताबाट रकम निकाशा गर्न मिल्दैन ।
महानगर स्रोत भन्छ, ‘प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न । मेयरसाबले संघीय सरकारलाई पनि प्रमुख प्रशासकीय अधिकृत पठाइदिनु पर्यो भन्ने पत्रसमेत लेख्नु भएको हो ।’
महानगरसँग पैसै नभएको भने होइन । महानगरले संघीय सरकारबाट राजस्व बाँडफाँड र नियमित आन्तरिक स्रोत (कर)को पैसा उठाइ रहेको हुन्छ । तर, खर्च गर्नका लागि खर्च खातामा पैसा ट्रान्स्फर गर्नुपर्छ ।
‘खर्च कोषमा भएको पैसा सकियो । करिब ३० करोड रुपैयाँको फाइल रोकिएका छन्,’ स्रोत भन्छ ।
काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि बालेनले कारबारहीको सिफारिस गरेका हुन् ।
महानगरको मापदण्ड विपरीत नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिस गरेको हो ।
प्रतिक्रिया