काठमाडौं । राष्ट्रिय गौरबको आयोजनामध्ये महत्वपूर्ण आयोजना पाल्पा जिल्लाको सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु (दायाँवायाँ छेदन गरी जोड्ने) आज उद्घाटन हुँदैछ ।
यो सुरुङमार्ग सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा सडक खण्डमा पर्छ । यसअघि सुरुङमार्गको अन्तिम ब्रेक थ्रु यहि माघ २ गते र ८ गते हुने तय भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण उक्त मितिमा हुन सकेको थजिएन ।
सुरुङमार्गसँगै आज नै ६ लेनमा विस्तार हुन लागेको बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक खण्डको शिलन्यास गर्ने कार्यक्रमसमेत छ ।
हिन्दू परम्पराअनुसार पूजाआजा गरी यो सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु हुने तय भएको भए पनि उनी अस्वस्थ भएपछि कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने भएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत पनि कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार इलेक्ट्रोनिक्स प्रविधिमार्फत मुख्य टनेलमा खन्न बाँकी रहेको करिब १ मिटरको दूरी ब्रेक थ्रु गरी छिचोल्ने कार्यक्रम छ ।
‘आज माघ ११ गते उद्घाटनको कार्यक्रम हुँदैछ,’ आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले भने ।
‘ब्रेक थ्रु’ गर्ने यस्तो छ प्रधानमन्त्रीको सेड्युल
शुक्रबार दिउँसो सवा १२ बजे दोभान हाइस्कुल अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ निर्माण भएको तिनाउँ गाउपालिका प्रशासनीक भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तालिका प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको थियो तर उनी अस्वस्थ भएकाले कार्यक्रममा सहभागी हुने छैनन् ।।
१२ बजेर ४५ मिनेटमा सिद्धबाबा सुरुङमार्ग साइट क्याम्प इलेक्ट्रोनिक्स प्रविधिबाट उक्त सुरुङ मार्गको अन्तिम ब्रेक थ्रु गर्ने कार्यतालिका छ ।
त्यसपछि सुरुङ मार्गको दक्षिणी पोर्टलमा अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ सिद्धबाबा मन्दिरको शिला पूजन कार्यक्रम हुने छ । यो सकिएपछि सवा १ बजे बुटबल- गोरुसिंगे सडक स्तरोन्नतिको शिलन्यास गर्न बुटबल १३ स्थित जितगढी दुर्गा मन्दिरमा पुग्ने उनको कार्यतालिका निर्धारण गरिएको छ ।
त्यहाँ पूजा तथा शिलालेख अनावरण पश्चात आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
मृत्युमार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गको दोभानदेखि चिडिया खोलासम्मको ४ किलोमिटरको सिद्धबाबाबा क्षेत्रमा निक्कै सुख्खा पहिरो आउने गरेको छ ।
सिद्धबाबा क्षेत्रमा सुख्खा र बर्षात सिजनमा ढुङ्गासहितको ठूल–ठूला पहिरो गएर सवारीसाधनका साथै जनधनमा ठूलो क्षति गर्दै आएकाले सरकारले दीर्घकालिन रुपमा उक्त समस्या समाधान गर्न त्यहाँ सुरुङमार्ग निर्माण गर्न लागेको हो ।
पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा सुरुङमार्ग निर्माण हुँदैछ । यो सुरुङमार्गको अन्तिम ब्रेक थ्रु एक वर्षमै सम्पन्न हुन लागेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण गर्न लागेको छ । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण हुन लागेको हो ।
मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाँई करिब ७ मिटर छ । लाइनिङ्गसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ ।
आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङको बीचमा १ मिटरजतिको दूरी बाँकी राखिएको छ । सुरुङको उत्तर र दक्षिण भाग जोड्न १ मिटर मात्रै बाँकी छ । यहि १ मिटरको अन्तिम ब्रेक थ्रु प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको हो ।
यो सुरुङमार्ग इन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन(ईपीएस) बिधीबाट निर्माण भइरहेको जानकारी दिदैं अधिकारीले सुरुङमार्गमा सवारी साधन गुड्दा आपातकालिन अवस्थामा यात्रुलाई उद्दार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोश्रो वाइपास र १३० मिटर दूरीको तेश्रो वाइपास पनि निर्माण गरिएको छ ।
‘सुरुङमार्गमा सवारी र यात्रुलाई समस्या पर्दा उद्दार गर्न तीनवटा वासपास सहायक सुरुङमार्ग निर्माण गरेका छौं, तीनवटै सहायक सुरुङ्गमार्गको निर्माण सम्पन्न भइसकेको छ,’ अधिकारीले भने ।
उनका अनुसार पहिलो वाइपास सुरुङमार्गको ब्रेक थ्रु २०८१ असोज ४ गते, दोश्रोको २०८१ पुस ७ गते र तेश्रो सुरुङमार्गको ब्रेक थ्रु २०८१ भदौं २६ गते भएको थियो । दोश्रो वाइपास सुरुङमार्ग बीचमा भएकाले सबैभन्दा अन्तिममा उक्त वाइपासको ब्रेक थ्रु भएको हो ।
मुख्य सुरुङमार्गमा समस्यामा परेका यात्रुको उद्दार गरी तत्कालै अस्पतालसम्म लैजानको लागि सुरुङमार्गको उत्तरी र दक्षिणी छेउमा हेलिप्याडसमेत निर्माण गरिने अधिकारीले जानकारी दिए ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।
सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ बर्षभित्र अर्थात २०८३ चैत ७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् २०८० पुषदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको थियो ।
यस्तै व्लास्टिङ्ग गर्ने काम २०८१ जेट १३ गतेबाट सुरु भएको थियो । सुरुङ दैनिक १० मिटरको दरले खनिएको अधिकारीले जानकारी दिए ।
चालु आर्थिक बर्ष २०८१/८२ मा यो आयोजनाको लागि ६५ करोड ८१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । बाँकी काम अबको दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुने अधिकारीले जानकारी दिए ।
सुरुङमार्ग निर्माण गर्ने बिषयमा २०७७ मंसिर १ गते बसेको मन्त्रिपरिषदको बैठकले सहमति प्रदान गरेको थियो । त्यसलगत्तै २०७८ जेठ ९ गते सडक विभागले ग्लोवल टेण्डर आह्वान गरेको थियो । यो टेण्डरमार्फत निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले पाएको थियो ।
५ बर्षसम्मको सञ्चालनको जिम्मा ठेक्केदार कम्पनीलाई
यो सुरुङमार्गको निर्माण पश्चात् ५ बर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी ठेक्केदारी कम्पनीको नै हुनेछ ।
यस्तै सम्झौता शर्तअनुसार सुरुङमार्गको व्यारेन्टी, सञ्चालन तथा मर्मत सम्भारको लागि ५ बर्ष तोकिएको छ । यो ५ बर्षसम्म सञ्चालन र मर्मत सम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ ।
निर्माणकै क्रममा रहेकाले यो सुरुङमार्ग प्रयोग गरी सवारी साधन गुडाउनेले शुल्क तिर्नु पर्ने वा नपर्ने बिषयमा अहिले मोडालिटी तयार भएको छैन् । सुरुङमार्गमा ६० किलोमिटर प्रति घण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था छ ।
के के काम गर्न बाँकी ?
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ ।
अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ्ग, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ ।
साढे १३ अर्ब लागतमा बुटबल गोरुसिंगे सडक निर्माण हुँदै
सडक विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार बुटबल- गोरुसिंगे सडक दुई चरणमा निर्माण हुन लागेको हो ।
जसअनुसार बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर दूरीको सडक हुनेछ । पहिलो चरणअन्तर्गत निर्माण हुने बुटवल–गोरुसिंगे खण्डको प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लागेका हुन् ।
उक्त सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गर्ने गरी पाएको हो ।
पोखरेलका अनुसार बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई खण्डमा बाँडेर गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।
यो सडक खण्डको लागत १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठीनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठी नदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।
* प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग उद्घाटन गर्ने कार्यतालिका उनको सचिवालयले सार्वजनिक गरेको भए पनि उनी अस्वस्थ भएपछि उद्घाटन कार्यक्रममा सहभागी नहुने भएका छन् । उनी भर्चुअल रुपमा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।- सम्पादक
प्रतिक्रिया