वार्षिक साढे ६ अर्बको पस्मिना निर्यात: भृकुटीमण्डपमा ४० बढी शुद्ध नेपाली पस्मिनाका स्टल (तस्बिरहरु)


काठमाडौं । नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ ।

माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पो पनि सुरू भएको हो । यो मेलालाई नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन् ।

मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन् ।

पस्मिना मेला नेपालमा पहिलो पटक आयोजना भएको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) मेलाको सहआयोजकका रुपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेका छन् ।

गत आर्थिक वर्षमा नेपालले ६ अर्ब ३८ करोड २५ लाख मूल्य बराबरको २ लाख ४ हजार स्वकार मिटर पस्मिन निर्यात गरेको थियो ।

नेपालले पछिल्लो ६ महिनामा ३ अर्ब ३१ करोडको १ लाख ९२ हजार स्वकार मिटर पस्मिना अमेरिका निर्यात गरेको छ ।

Skip This