अमेरिकामा टिकटक प्रतिवन्ध हुन सक्ने अमेरिकी सर्वोच्च अदालतको संकेत
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले चिनियाँ समाजिक सञ्जाल टिकटकलाई प्रतिवन्ध गर्न सक्ने संकेत दिएको छ ।
अमेरिकास्थित सर्वोच्च अदालतले टिकटकको शेयर गैर चिनियाँ कम्पनीलाई नबेचे अमेरिकामा प्रतिवन्धको सामना गर्नुपर्ने आदेश दिएको छ ।
अमेरिकामा प्रतिबन्ध लगाउने संघीय कानुनविरुद्ध टिकटकको मातृ कम्पनी बाइट डान्सले दायर गरेको अपिल अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
जनवरी १९ सम्ममा बाइट डान्सले टिकटकको शेयर गैर चिनियाँ कम्पनीलाई नबेचे सोही दिनबाट अमेरिकामा टिकटकले प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै अदालतले आदेश दिएको हो ।
सर्वोच्च अदालतका नौ सदस्यीय इजलासले सर्वसम्मतिले फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले टिकटक अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको तथा चीनसँगको सम्बन्ध औल्याउँदै संघीय कानुनको निर्णयलाई यथावत् राखेको हो ।
गत वर्षको अप्रिलमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै अमेरिकी न्याय विभागको पहलमा कंग्रेसले टिकटकलाई २०२५ को १९ जनवरीसम्म गैर चिनियाँ कम्पनीलाई बेच्नुपर्ने अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै विधयेक पारित गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेपछि कानुन बनेको थियो ।
अमेरिकामा भने १७ करोड टिकटक प्रयोगकर्ता छन् भने उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै उक्त कानुनलाई खारेज गर्न अपिल गरेको थियो । उच्च अदालतले अमेरिकी कानुनको पक्षमा फैसला सुनाएपछि कम्पनीले पुनः सर्वोच्चमा खारेजीको माग गर्दै अपिल गरेको थियो । तर, सर्वोच्चले सो अपिल पनि खारेज गरेको हो ।