समयमै सेयर ट्रान्स्फर नगर्दा लगानीकर्ताले तिरे ८ करोड जरिवाना, जति धेरै कारोबार उति बढी क्लोजआउट
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सेयर लगानीकर्ताले ‘क्लोज आउट’ मा परेर ७ करोड ७९ लाख ५२ हजार ५३ रुपैयाँ जरिवाना तिरेका छन् ।
लगानीकर्ताले ७ करोड ७९ लाख ५२ हजार ५३ रुपैयाँ जरिवाना तिर्दा राज्यले १ करोड ९४ लाख ८८ हजार १३४ रुपैयाँ पेनाल्टी कर पाएको छ ।
क्लोज आउटमा परेका लगानीकर्ताले ३८ करोड ९७ लाख ६२ हजार ६८३ रुपैयाँको कारोबार गरेका थिए । सीडीएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चालु आवको ६ महिनामा ‘क्लोज आउट’मा परेर लगानीकर्ताले उक्त रकम जरिवाना तिरेका हुन् ।
चालु आवको ६ महिनामा लगानीकर्ताको १३ हजार ८३ कारोबार ‘क्लोज आउट’ मा परेर उक्त रकम कारबाहीस्वरुपः जरिवाना तिरेका हुन् । न्यौपानेका अनुसार चालु आवको ६ महिनामा ८ लाख ४९ हजार २८३ कित्ता सेयर क्लोज आउटमा परेको छ ।
सिडिएससीका अनुसार साउन महिनामा लगानीकर्ताले क्लोज आउटमा परेर ३ करोड १ लाख ५५ हजार ९०१ रुपैयाँ तिरेका छन् । जसबाट राज्यले ७६५ लाख ३८ हजार ९७५ रुपैयाँ जरिवाना कर पाएको छ । भदौमा लगानीकर्ताले क्लोज आउटमा परेर २ करोड १० लाख ६६ हजार ७८६ रुपैयाँ तिरेका छन् । राज्यले ५२ लाख ६६ हजार ६९६ रुपैयाँ जरिवाना कर पाएको छ ।
यस्तै लगानीकर्ता असोजमा ५२ लाख ५२ हजार ८७४ रुपैयाँ तिरेका छन् । जसबाट लगानीकर्ताले १३ लाख १३ हजार २१८ रुपैयाँ राज्यले कर पाएको छ । कात्तिकमा लगानीकर्ताले क्लोज आउटमा परेर ६७ लाख ५ हजार १९९ रुपैयाँ तिरेका छन् । जसबाट राज्यले १६लाख ७६ हजार २९९ रुपैयाँ पाएका छन् ।
मंसिरमा लगानीकर्ताले क्लोज आउटमा परेर ८१ लाख ३२ हजार ९२८ रुपैयाँ तिर्दा राज्यले २० लाख ३३ हजार २३२ रुपैयाँ कर पाएको छ । यस्तै पुसमा क्लोज आउटमा पर्नेले ६६ लाख ३८ हजार ८४५ रुपैयाँ तिरेका छन् । राज्यले १६लाख ५९ हजार ७११ रुपैयाँ पाएको छ ।
लगानीकर्ताले सेयर बिक्री गर्ने तर त्यो सेयर इडिआइएस नगर्ने गरेको कारण पनि क्लोज आउटमा परेका छन् । त्यसलाई रोक्न भन्दै सीडीएससीले मेरो सेयर एपमा नै सहजै ईडीआईएस गर्न सक्ने व्यवस्था गरेको छ । जसले गर्दा सेयर बजारमा सामान्य जानकारी राखेका लगानीकर्ता क्लोज आउटमा पर्ने क्रम भने न्यून हुन्छ ।
कुनै पनि लगानीकर्ता क्लोज आउटमा परेमा कारोबार रकमको २० प्रतिशत जरिवाना लाग्ने व्यवस्था रहेको छ । कुनै लगानीकर्ताले आफूसँग भएको १० कित्ता सेयर बिक्री गर्यो । तर उसले सेयर बिक्री गर्दा १० को ठाँउमा झुक्किएर १०० कित्ता राखेर बिक्री आदेश दियो भने क्लोज आउटमा पर्छ ।
क्लोज आउटमा नपर्नको लागि लगानीकर्ताले आफूसँग भएको मात्रै सेयर बिक्री गर्नुपर्छ । यस्तै लगानीकर्ताले खरिद गर्नुपर्ने सेयर बिक्री र बिक्री गर्नुपर्ने सेयर खरिद भयो भने पनि क्लोज आउटमा परिन्छ ।
लगानीकर्ता आफ्नो मात्रै कारण क्लोज आउटमा पर्दैनन् । सबै लगानीकर्ताले अनलाइनबाट मात्रै कारोबार गर्छन भन्ने पनि छैन ।
ब्रोकर कार्यालयमा पुगेर लेखेर सेयर बिक्री गर्दा नाममा वा अंकमा तलमाथी भयो भने पनि क्लोज आउटमा परिन्छ । ब्रोकर कार्यालयमा फोन गरेर आफ्नो वा परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्न आदेश दिँदा नाम फरक पर्यो भने पनि क्लोज आउटमा पर्नेछन् ।
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट विनियमावलीमार्फत् ‘क्लोज आउट’को व्यवस्था गरेको हो । यस विनियमावली लागू भएपश्चात २०७२ सालदेखि ‘क्लोज आउट’ कार्यान्वयन हुँदै आएको छ ।