काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै १८ हजार ७९७ ग्राहकको लाइन काटेको छ । पुस २ गतेदेखि २६ गतेसम्म ७१ करोड ७६ नख ८५ हजार रुपैयाँ बक्यौता रहेका साना ग्राहकको लाइन काटेको हो ।
प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार कोशी प्रदेश, प्रादेशिक कार्यालय, विराटनगरले ३ हजार १४८ ग्राहकको लाइन काटेको छ । ती ग्राहकका ३ करोड ४३ लाख ७२ हजार रुपैयाँ बक्यौता छ ।
मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुर ६ हजार ३६८ ग्राहकको लाइन काटेको छ । यो कार्यालयले सबैभन्दा धेरै ग्राहकको लाइन काटेको हो । यो कार्यालय मातहत १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता छ ।
बागमती प्रदेश, प्रदेश डिभिजन कार्यालय,हेटौंडाले ७०४ ग्राहकको लाइन काटेको छ । जसको २ करोड ५९ लाख ५१ हजार रुपैयाँ बक्यौता छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले १ हजार १३० ग्राहकको १ करोड ५७ लख ९८ हजार रुपैयाँ बक्यौता भएको भन्दै लाइन काटेको छ । लुम्बिनी प्रदेश, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले १हजार ५४४ ग्राहकको १ करोड २१ लाख ४८ हजार बक्यौता रहेको भन्दै लाइन काटेको छ ।
कर्णाली प्रादेशिक कार्यालय,सुर्खेतले १ हजार ८१ जना ग्राहकको २ करोड ५३ लाख ९५ हजार रुपैयाँ बक्यौता रहेको भन्दै लाइन काटेको छ । सुदुरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाले ८ सय ८८ जना ग्राहकको लाइन काटेको छ । ती ग्राहकको २ करोड ५३ लाख ९५ हजार रुपैयाँ बक्यौता छ ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल लाइन नकाटी बक्यौता नै नउठ्ने भएपछि आफूहरु बाध्य भएको बताउँछन् । लाइन काटेपछि मात्रै बक्यौता उठ्ने गरेको उनी बताउँछन् । उनले यो वर्ष १ लाखभन्दा बढी ग्राहकको लाइन काटिने बताए ।
प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७८ मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।
मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।
मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।
प्राधिकरणको पछिल्लो समय बक्यौता बढ्दो छ । प्राधिकरणका अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ । तर उद्योगीहरुले भने प्राधिकरणले फर्जी बिल काटेको दाबी गर्दै आएका छन् । स्थानीय तहहरुले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन्
कति लाइन जोडियो ?
यो अवधिमा १३ हजार ७७३ ग्राहकको लाइन जोडिएको छ । २२ करोड ३७ लाख रुपैयाँ बक्यौता तिरेपछि उनीहरुको लाइन जोडिएको हो । लाइन काटिएका अधिकांश ग्राहस्त वर्गका साना ग्राहकहरु रहेका छन् ।
प्रतिक्रिया