केडिया ग्रुपले फ्रेन्चाइज भलिबल लिग आयोजना गर्दै, लोगो र नारा सार्वजनिक



काठमाडौं । पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । केडिया ग्रुप आयोजना गर्ने प्रतियोगिताको मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरे भने राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।

नेपाली भलिबलले नयाँ उचाइ लिने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको केडिया ग्रुपका निर्देशक अश्विन केडियाले जानकारी दिए ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुनेछ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछन् ।

प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच जत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।


क्लिकमान्डु