‘सरकारी जागिरमा नाम ननिस्किएपछि बुबाले आत्महत्या गर्न खोजे, १२ बजेसम्म भाइ सुतिरहन्थ्यो हत्या गरेँ’
काठमाडौं । भक्तपुरको बालकोटस्थित घरमा आइतबार बिहान मृत फेला परेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण आचार्यको हत्या जेठा छोरा मिलनले गरेको खुलेको छ ।
पक्राउ परेका जेठा छोरा मिलनले अपराध स्वीकार गर्दै आफूले बाबु र भाइलाई मारेको बयान प्रहरीलाई दिएका छन्।
मिलनले प्रहरीलाई दिएको बयान अनुसार, आइतबार बिहान करिब ३ बजे उनले सुतेका बेला बाबु र भाइमाथि सिलौटा र डम्बलले आक्रमण गरेर हत्या गरे ।
आफूले सरकारी जागिर खाएको हेर्ने बुबाको सपना भए पनि आफूले नसकेको उनले प्रहरीसँगको बयानमा भने । धेरै पटक प्रयास गरे पनि असफल भएपछि बुबा डिप्रेसनको सिकार भएको र उनले केही पटक आत्महत्या प्रयास गरेको उनले बताए ।
आफूले बुबालाई खुसी पार्न नसकेको कारण सबैलाई मारेर समस्याबाट छुटकारा पाउछु भनेर लागेको उनले बताए ।
उनी भाइ प्रविणसँग पनि रिसाएका थिए । भाइ सधैंजसो दिउँसो १२ बजेसम्म सुत्ने र कुनै काम नगर्ने भएपछि आफू थप तनाबमा परेको र भाइलाई मार्ने निर्णयमा पुगेको उनले प्रहरी बयानमा भनेका छन् ।
हत्या पछि कहाँ गए ?
हत्या गरेपछि मिलन आइतबार राति ३ बजे स्कुटर लिएर घटनास्थलबाट फरार भएका थिए । उनको स्कुटर सातदोबाटोसम्म पुगेको सीसीटीभी फुटेज फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि उनको मोबाइल अफ भएपछि खोजी गर्न समय लागेको थियो ।
हत्या गरेपछि मिलन भक्तपुरको बिरुवा गए । त्यहाँ झुन्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएको उनले प्रहरीसँग बताएका छन् । त्यसपछि उनी भक्तपुर दरबार स्क्वायर पुगे र आइतबार दिनभर त्यही बसे ।
सोमबार उनी सार्वजनिक सवारी साधन चढेर चाबहिल पुगेका थिए । चाबहिलस्थित एक होटलमा दुई दिन बिताएपछि मंगलबार बिहान उनी प्रहरीको सम्पर्कमा आए ।
मिलनले सरकारी जागिर पाउने प्रयासमा लगातार असफल भएपछि मानसिक तनाव भोगिरहेका थिए । परिवारको अपेक्षा र आफ्ना असफलताबीचको द्वन्द्वले उनलाई अपराधको दिशामा डोर्याएको देखिएको प्रहरीको भनाइ छ ।