लुम्बिनीमा नेपाल- भारत साँस्कृतिक महोत्सव दोस्रो संस्करण आयोजना



काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा नेपाल–भारत साँस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ । बौद्ध धर्ममा केन्द्रित हुँदै महोत्सवले भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई उजागर गरेको भारतीय राजदुतावासले जनाएको छ ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उपमहानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरूका साथै नागरिक समाजका सदस्य एवं वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारी सदस्यहरूसहित प्रमुख प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो।

आइतवार साँझ भारत र नेपालका कलाकारहरूको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो । उक्त प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको थियो । सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए ।

महोत्सवको एक हिस्साको रूपमा आइतवार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयकमा शैक्षिक गोष्ठी आयोजना भएको थियो । गेष्ठीमा भारत र नेपालका बौद्ध विद्वानहरू सहभागी थिए । उनीहरुले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्नो अन्तर्दृष्टि साझा गरेका थिए ।


क्लिकमान्डु