लगानी सम्मेलनमार्फत् १ खर्ब भित्र्याउँदै कोशी सरकार, १० करोडदेखि ३२ अर्बका आयोजना शोकेसमा



विराटनगर । कोशी प्रदेश सरकारले प्रथम लगानी सम्मेलनमार्फत् प्रदेशमा१ खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रयायउने तयारी गरेको छ ।

सरकारले माघ ११ देखि १३ गते विराटनगरमा गर्ने तयारी गरेको पहिलो लगानी सम्मेलनमा कृषि, पर्यटन,उर्जा,जलश्रोत, आइटी, डेटा सेण्टर, उद्योग, जलवायु लगायतका क्षेत्रलाई लागनीको पहिलो प्राथामिकतामा राखेको छ ।

त्यसका लागि प्रदेश सरकारको लगानी प्राधिकरणले प्रदेशका १३७ वटै स्थानीय निकाय, प्रदेशमा रहेका निजी क्षेत्रका प्रतिनिधिमुलक संघ-संगठनसँग निजी लगानीमा वा सार्वजनीक निजी साझेदारी मोडलमा गर्न सकिने सम्भावित योजना र परियोजना माग गरेर प्राधिकरणले सम्मेलनमा प्रस्तुत गर्ने योजनाको अन्तिम खाका तयार गरेको पाइएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार लगानी सम्मेलनमा सबैभन्दा ठुलो करिब ३२ अर्ब रुपैयाँको लागतमा हाइड्रोजन उत्पादन गर्ने योजना प्रस्तुत हुँदै छ । उक्त येजनामा कोशीको पानी प्रयोग गरेर हाइड्रजन उत्पादन गर्ने लक्ष्य छ । उनका अनुसार लगानी सम्मेलनमा कम्तीमा १० करोडदेखि बढीमा ३२ अर्ब रुपैयाँसम्मका झण्डै ७० वटा योजना प्रदेश सरकारले प्रस्तुत गर्ने तयारी गरेको छ ।

सम्मेलनमा हाइड्रोजन उत्पादन, सुनसरीको बर्जुताल संरक्षण, जोगवनी-धरान मनोरेल सहित कपी, अलैची प्रशोधन, फोहोर व्यवस्थापन, प्राकिृतिक स्रोतको संरक्षण, जलवायु लगायतका झण्डै ७० वटा योजना प्रस्तुत हुने छ । ति योजनाहरुको कुल लागत दुई खर्बभन्दा बढी छ । कोइरालाले भने त्यसमध्ये एक खर्बसम्मका योजनाको एमओयु गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

केन्द्रको लगानी सम्मेलनमा साझेदारी पत्रमा हस्ताक्षर हुने र प्रतिबद्धता व्यक्त हुने परम्परा छ । तर कोशी प्रदेश सरकारको लगानी सम्मेलनमा एक खर्ब लगानी गर्ने समझदारी पत्र (एमओयु) मा नै हस्ताक्षर गरेर सिधै डिपिआरमा प्रवेश गर्ने लक्ष्य राखेका कोइरालाले बताए ।

लगानी सम्मेलनमा प्रस्तुत गर्ने योजना र परियोजना छनौटकालागि प्रदेश सरकारले प्राधिकरणका निर्देशक कोइरालाको नेतृत्वमा मूख्यमन्त्री कार्यालय, अर्थ, कानून, पर्यटन, भौतिक पूर्वाधार विकास मन्त्रालय, योजना आयोग माहाशाखा प्रमुख र निजी क्षेत्रका विभिन्न संघ संगठनलाई सदस्य बनाएको छ ।

त्यसबाहेक प्रदेश सरकारले मुख्यमन्त्री हिकमतकुमार कार्कीको संयोजकत्वमा उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघलाई सहसंयोजक र मन्त्रीहरुलाई सदस्यमा राखेर मुल आयोयजक समिति गठन गरेर सम्मेलनको इभेन्ट व्यवस्थापनकालागि उद्योग संगठन मोरङलाई जिम्मेवारी दिइसकेको छ ।

लगानी सम्मेलनमार्फत् प्रदेशमा एक खर्बको लगानी भित्रयाउन सरकारले तयारी गरिरहेका वेला लगानी सम्मेलनको इभेन्ट व्यवस्थापनको जिम्मेवारी उद्योग संगठनलाई मात्र दिएको भन्दै विराटनगरका उद्योगी व्यवसायी विभाजीत बनेका छन् । त्यसमा मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विरोध जनाउदै सम्मेलन वहिस्कार गर्ने धम्की दिएका छन् ।

उद्योग संगठन मोरङले यहाँको डिग्री क्याम्पसको फिल्डमा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो गर्ने तयारी गरेको छ । त्यसै वेला र त्यही फिल्डमा प्रदेश सरकारले एक्स्पोसँगै माघ ११ देखि १३ सम्म लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

परिसंघका अध्यक्ष पवनकुमार सारडा र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले लगानी सम्मेलन एक्स्पोमा नभई साझा स्थानमा गरिनु पर्ने र त्यसको जस आफु नेतृत्वको संघ संगठनले पनि पाउनु पर्ने माग गर्दै विरोधमा उत्रिँदा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र त्यस मातहतका छाता संगठनले उद्योग संगठनलाई समर्थन गरेका छन् । यसतो अवसरमा विराटनगरका निजी क्षेत्रका संघ संगठन वीच एकले अर्कोलाई पाखा लगाएर आफु नेतृत्वको संगठन र व्याक्तिको प्रभुत्व देखाउने पुरानो परम्परा छ ।

उता मोरङ उद्योग संगठनका अध्यक्ष राकेश सुराना परिसंघ र व्यापार संघको विरोधमा कुनै तुक नरहेको बताउँदै आफु नेतृत्वको संगठन प्रदेश सरकारको पहिलो लगानी सम्मेलन सफल पार्न र अवसरको सदुपयोग गर्न क्रियाशील रहेको बताउँछन्। सरकारले यस्तो जिम्मेवारी कुनै निजी क्षेत्रलाई दिनु भनेको सम्पूर्ण निजी क्षेत्रप्रति सरकारको विश्वास भएको सुरानाको बुझाइ छ ।

लगानी सम्मेलनका नाममा विराटनगरका उद्योगी व्यवसायीबीच फाटो आएपछि उनीहरुको फाटोले सम्मेलनको तयारीमा कुनै प्रभाव नपरेको प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्माले बताए । क्याविनेट बैठकको निर्णय अनुसार लगानी सम्मेलनको तयारी लगानी प्राधिकरण गरिरहेको छ । शर्माले क्लिकमान्डुसँग भने- ‘उद्योगी व्यवसायीबीचको विवादले सम्मेलन प्रभावित हुँदैन ।’


विनोद भण्डारी