४ दिने चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बिहीबार दिउँसो उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत बेइजिङस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरे ।
चीन भ्रमणको क्रममा ओलीले चिनियाँ समकक्षीसहित राष्ट्रपति सी जिनफिङसँग पनि भेट गरेका थिए । चिनियाँ राष्ट्रपति सीसँगको भेटमा चीनले नेपाललाई झन्डै ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । यससँगै दुई देशले चीनको महत्त्वाकांक्षी बीआरआई परियोजनामा हस्ताक्षर गरेका थिए ।
ओलीले चीन भ्रमणको क्रममा चिनियाँ उच्च अधिकारीहरुसहित चीनमा रहेका नेपाली विद्यार्थीहरुसँग पनि भेट गरेका थिए ।