त्रिवि क्रिकेट मैदानभित्रै पुग्छन् बेटिङ प्लेटफर्म स्पोर्टस् बाजी र प्रोबोका एजेन्ट



काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म स्पोर्टस् बाजी र प्रोबोका एजेन्ट क्रिकेट रंगशालामै सक्रिय रहेको पाइएको छ । नेपालमा अनलाइन बेटिङ वा सट्टेबाजी प्रतिबन्धित रहेकामा सट्टेबाजी पलोटफर्मका एजेन्ट भने मैदानसम्म पुगेर सक्रिय रहेको पाइएको हो ।

मंसिर १५ गतेदेखि राजधानी चलिरहेको नेपाल प्रिमियर लिग एनपीएलमा बेटिङ गराउनेहरु मैदान भित्रै सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

नेपालमा बेटिङ प्रतिबन्धित छ । तर, स्पोर्टस बाजी, प्रोबोलगायत अनलाइन बेटिङ प्लेटफर्ममार्फत् पैसाको हारजित हुने गरी एनपीएल आयोजनास्थल त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउन्डमै खेल खेलाउने गरेको पाइएको हो ।

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ । प्रहरीको फन्दामा पर्नेहरु सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार रहेका छन् । उनीहरुमध्ये घोष कलकत्ताका हुन् भने यादव उत्तरप्रदेश तथा कुमारद्वय बिहारका हुन् ।

उनीहरुको साथबाट ६ वटा स्मार्टफोन बरामद गरिएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ । साथै यस्ता बेटिङ कार्यमा संलग्न व्यक्ति तथा समूहहरुबारे कुनै माध्यमबाट सूचना वा जानकारी पाएमा प्रहरीलाई जानकारी गराउन सीआईबीले आह्वान गरेको छ ।


क्लिकमान्डु