३० करोड लगानीमा रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन



भैरहवा । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ ।

मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । स्थापना भएको यो उद्योगले आफ्नो उत्पादन सुरु गरिसकेको छ ।

करिब ३० करोड रुपैयाँको लगानीमा उद्योगी सिद्धार्थ अग्रवालले रत्नम दानेदार अर्गानिक मल उद्योग स्थापना गरेका हुन ।

ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ ।

हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादित मलखादले केही हदसम्म भए पनि सम्बोधन गर्ने उद्योगी अग्रवालको दाबी छ । माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको उनले बताए ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट जोडिएको छ । मलको गुणस्तर परीक्षण उद्योगको आफ्नै ल्याब र सरकारको आधिकारिक ल्याबमा पनि हुने गरेको अग्रवालले जानकारी दिए ।

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको बताउँदै उनले हाल बागमती, गण्डकी र मधेश प्रदेशमा मलको माग आइरहेको उल्लेख गरे । हाल उद्योगमा ४० जना स्थानीय युवाले रोजगार पाएका छन् ।


क्लिकमान्डु