अहिले जस्तो कमजोर सुशासन कहिल्यै थिएनः नेता पुन



रोल्पा । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले इतिहासमै अहिले जस्तो कमजोर सुशासन कहिल्यै नभएको जिकिर गरेका छन् ।

गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको आरोप लगाए ।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ कांग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो । ‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा कांग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने ।

यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकोमा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्दा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्दा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिं कारबाही ? कांग्रेस–एमालेको सुशासन यस्तो छ ।’

पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत कांग्रेस–एमालेलाई आफूहरुले १२ बुँदे सहमतिमार्फत गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको पनि जिकिर गरेका थिए । ‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफ्नाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ’, उनले भने ।

अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गर्दै सुशासन कमजोर भएको र भष्टाचार तथा अनियमितताका घटना बढेकाले लोकतन्त्रको सर्भिसिङ गर्नुपर्ने बेला आएको बताए ।

पुनले मुलुकमा बाढीपहिरो जाँदा अमेरिका सयर गरिरहेका प्रधानमन्त्रीले स्वदेश फर्किएपछि आफन्त गुमाएकाहरुलाई सान्त्वना दिनुको साटो ‘भैंसी दुहुन गएको होइन’ भन्नु जनतालाई हेपेको रुपमा व्याख्या गरेका थिए । यस्तै कार्यवाहक प्रधानमन्त्री सुतेर बसेको र गृहमन्त्री भिजिबिलीटी पुगेन भनेर बस्दा नख्खु खोलामा चार घण्टासम्म छतमा बसेर ज्यान बचाउन गुहार माग्नेहरुलाई बगाएको घटना कसैले बिर्सन नक्ने उनको भनाइ थियो ।

‘दर्जनौं मानिस बाढीपहिरोबाट मरेका छन् । प्रम विदेश सयरमा हुनुहुन्छ । कार्यवाहक प्रधानमन्त्री सुतेर बस्नुभएको छ । गृहमन्त्रीलाई केही थाहा छैन । गल्ती भयो । सकिएन, मौसम विभागले भन्दाभन्दै पनि हाम्रो तयारी पुगेन भन्नुपर्नेमा प्रधानमन्त्रीले स्वदेश फर्किएपछि ‘भैंसी दुहुन गएको होइन’ भन्नुभयो’, पुनले भने ।

पुनले दुई तिहाईको वर्तमान सरकारले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको उपस्थिति देखाउन नसकेको दाबी गरे । साथै वर्तमान सरकारमा रहेका एमाले र कांग्रेसका वरिष्ठ नेताहरुले नै आफूहरुसँग दिक्दारी सुनाउन थालेको पनि बताएका थिए ।

‘कांग्रेसका साथीहरु भन्नुहुन्छ कि हरेक हप्ताजस्तो ओलीजीका नयाँनयाँ काण्डहरु आउन थाले कतिञ्जेल थेग्न सकिएला, एमालेका साथीहरु भन्नुहुन्छ, वाम सहकार्य पनि छाडियो । कांग्रेससँग सरकार चलाइएको छ । जनतामा निराशा थप बढेको छ । यसरी लामो समय जान सकिएलाजस्तो छैन ।’ यद्यपि माओवादी भने सरकार ढाल्ने खेलमा नलागेको नेता पुनले प्रष्ट पारेका थिए । ०८४ को निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन टिकोस् भन्ने पक्षमा आफ्नो दल रहेको पुनले बताएका थिए ।


क्लिकमान्डु