एलन मस्क बने मानव इतिहासकै धनी व्यक्ति, कति पुग्यो सम्पत्ति ?



काठमाडौं । विश्व चर्चित अटोमोबाइल कम्पनी टेस्लाका साथै स्पेस एक्स, स्टारलिंकलगायतका विभिन्न कम्पनीका मालिक एलन मस्क इतिहासकै धनी व्यक्ति बनेका छन् ।

‘ब्लुमबर्ग बिल्यनियर्स इन्डेक्स’काअनुसार मस्कको व्यक्तिगत सम्पत्ति चमत्कारिक बृद्धिका साथ ३ खर्ब ४८ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम भनेको नेपाली रुपैयाँमा ४६९ खर्ब ८५ अर्ब ६० करोड २८ लाख नेपाली रुपैयाँ हो ।

व्यक्तिगत सम्पत्तिमा भएको यस्तो बृद्धिले मस्कलाई मानव इतिहासकै सबैभन्दा धनि व्यक्ति बनाएको हो ।

उनको सम्पत्तिमा अचानक आएको बृद्धिको कारण भने टेस्ला कम्पनीको सेयर मूल्यमा भएको बृद्धि रहेको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयसँगै पछिल्ला दिनहरुमा टेस्लाको सेयर मूल्य आकाशिएको छ ।

अमेरिकी निर्वाचन भएको दिनमा मात्रै टेस्लाको सेयरमा ४० प्रतिशतको बृद्धि देखिएको थियो । अमेरिकी निर्वाचनका क्रममा मस्क स्वयले पनि ट्रम्पको समर्थन गरेका थिए र चुनावी अभियानमा आर्साथिक रुपमा नै साथ दिएका थिए ।

ब्लुमबर्गका अनुसार २३ नोमेम्बर २०२४ अर्थात शनिबारसम्मको अवस्था हेर्दा पछिल्लो एक वर्षमा नै मस्कको सम्पत्ति १ खर्ब १९ अर्ब अमेरिकी डलरले बढेर ३ खर्ब ४८ अर्ब अमेरिकी डलर पुगेको हो ।

टेस्लाका साथै मस्कको कृतिम बुद्धिमत्तासम्बन्धी कम्पनी ‘एक्सएआई’ को सेयर मूल्यमा पनि आकस्मिक बृद्दि भएको छ । उक्त कम्पनीको सेयरमा भएको वृद्धिपछि त्यसको भ्याल्युएसन ५० अर्ब अमेरिकी डलर पुगेको छ । र यसले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि १३ अर्ब अमेरिकी डलरको योगदान गरेको छ ।


क्लिकमान्डु