अडानीमाथि मुद्दा परेपछि केन्याले सम्झौता रद्द गरिदियो, अर्बौंको नोक्सान



एजेन्सी । भारतीय उद्योगी गौतम अडानीमाथि अमेरिकामा परेको मुद्दाको असर अडानीको व्यवसायमा त पर्छ नै भारत हुँदै केन्यासम्म देखिन थालेको छ । केन्याले बिहीबार अचानक अडानी समूहसँग नैरोबी विमानस्थल विस्तार र ऊर्जा क्षेत्रका लागि गरेको सम्झौता रद्द गरिदिएको छ ।

अडानी समूहको उक्त योजनालाई लिएर नैरोबीमा व्यापक विवाद रहँदैआएको थियो । यदि केन्याको विमानस्थल विस्तारको सम्झौता सफल भएको भने ३० वर्षका लागि उक्त विमानस्थलको सञ्चालनको जिम्मा अडानी समूहले नै पाउँथ्यो ।

नैरोबी विमानस्थलका कामदारहरुले पनि अडानी समूहसँगै उक्त सम्झौताको विरोध गर्दैआएका थिए । अडानी समूहले यदि विमानस्थल सञ्चालनको जिम्मा पाएको खण्डमा आफूहरुको रोजगारी समाप्त हुने त्रास उनीहरुको थियो । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार अडानीसँग सम्झौता रद्द गर्ने घोषणा गरेपछि पनि अनेक सवाल उठिरहेको छ ।

केन्यामा विमानस्थलका कामदारहरुसँगै विपक्षी दलहरुले पनि अडानीसँगको सम्झौतालाई लिएर राष्ट्रपति विलियम रुटोको आलोचना गरिरहेका थिए ।

विज्ञ तथा अभियन्ताहरुले अडानीलाई भारतीय भ्रष्ट व्यवसायीलाई हटाउनुपर्ने भन्दै विरोध गरिरहेका थिए । उनीहरुले आफ्नो देशको विमानस्थल ३० वर्षका लागि भ्रष्ट व्यवसायीलाई दिएको भन्दै विरोध जनाउँदै आएका थिए । यसलाई लिएर केन्याका राष्ट्रपति पनि आलोचित बन्दै आएका थिए ।

केन्याका राष्ट्रपतिले अडानी समूहसँगको सम्झौता रद्दको घोषणा गरे पनि त्यहाँका मिडियामा फेरि सवालजवाफ भने चलिरहेको छ । केन्याको स्वास्थ्य मन्त्रालयसँग पनि अडानीको अर्को सम्झौताको विरोध भइरहेको छ । जहाँ अडानीसँग ७० करोड अमेरिकी डलरको सम्झौता भएको थियो ।

बिहीबार केन्याका केही नेताहरुले त्यहाँको स्वास्थ्य मन्त्रालयसँगको सम्झौताको विरोध गरेका थिए । तर सरकार स्वास्थ्य मन्त्रालयसँग भएको सम्झौताबारे मौन रहेको बताइन्छ ।

यससवाहेक केन्यामै अर्को पनि सम्झौताको तयारीमा रहेको अडानी समूहलाई अमेरिकामा मुद्दा परेपछि थप दबाब परेको छ । यससँगै अडानी समूहलाई दसौं करोर डलर बराबरको क्षति परेको बताइन्छ । साथै थप सम्भावित आउनसक्ने अर्बौं डलर पनि गुमेको छ । अडानीमाथिको मुद्दाले भारतमै पनि उनलाई असर परेको बताइन्छ ।

६९ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय उद्योगी अडानी फोर्ब्सको विश्वभर २२औं धनी व्यक्तिको रुपमा सूचीकृत छन् । ७० अर्ब ८० करोड डलर सम्पत्ति भएका बेटेनकोर्ट मेयर्सपछि अडानीको नाम धनी व्यक्तिहरुको सूचीमा छ । यस्तै उनी भारतका दोस्रो ठूलो सिमेन्ट उत्पादक पनि हुन् । जसले २०२२ मा ३८ अर्ब डलर आम्दानी गरेका थिए । जतिबेला उनीसँग २६ हजार कर्मचारी थिए ।

अडानी ग्रुपले भारतका व्यस्त समुद्री बन्दरगाहा र ८ वटा विमानस्थलसहित ३० लाख ग्राहकलाई प्रशारण लाइन वितरण गर्दैआएका छन् । तर अमेरिकी इन्भेस्टमेन्ट फर्म हिन्डेनबर्ग रिसर्चले अडानी ग्रुपले ठूलो मात्रामा धोखाधडी र सेयरमा हेरफेर गरेको खुलासा गरिदिएको थियो ।

यद्यपि अडानी ग्रुपले आफूमाथिको आरोप इन्कार गर्दै आएको छ । हिन्डनबर्गको खुलासासँगै अडानीको ६५ अर्ब डलर नोक्सान हुनुका साथै फोर्ब्सको धनी व्यक्तिहरुको सूचीमा एलन मस्कपछि दोस्रो दर्जामा रहेका अडानी छोटो अवधिमै २२ औं स्थानमा झरेका हुन् ।


क्लिकमान्डु